निर्वाचन आयोगले भन्यो- उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका सहायक प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्।

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो।

उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो।

बिहान ७ बजेदेखि शुरू भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।

मंसिर १६, २०८१ आइतबार १८:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।