एसीसी यू१९ पुरुष एसिया कप बंगलादेशसँग हार्‍यो नेपाल

एसीसी यू१९ पुरुष एसिया कप बंगलादेशसँग हार्‍यो नेपाल

काठमाडौं : एसीसी यू१९ पुरुष एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो। समूह चरणमा दुवै खेलमा जित निकाल्दै बंगलादेश अहिले पहिलो स्थानमा छ। पहिलो खेलमा उसले अफगानिस्तानलाई ४५ रनले हराएको थियो।

आजको खेलमा बंगलादेशका लागि जवाद अबरारले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। कप्तान अजिजुल हकिमले अविजित रहँदै ५२ रन जोड्दा फरिद हसनले १३ रनको योगदान दिए।

नेपालका युवराज खत्रीले चार तथा कप्तान हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि युएईको दुवई क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा समेटियो।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाउँदा अभिषेक तिवारी र उत्तम मगरले समान २९-२९ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका अल फहाद, इकबाल होसेन इमोन, रिजन होसेनले समान दुई-दुई विकेट लिँदा अजिजुल हकिम, मोहमम रफी उज्मान रफी र साद इस्लामले समान एक-एक विकेट हात पारे।

लगातार दुई खेलमा पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार अफगानिस्तानसँग खेल्दैछ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो।

मंसिर १६, २०८१ आइतबार १७:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।