अन्जु कोइरालाको प्रसव पीडा र खुसी : अस्पतालमा अरु कराएको देखेपछि मैले पनि स्वर मिसाएर बेस्कन कराएँ, पछि साह्रै गाह्रो भो
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पाँच वर्षदेखि कार्यरत कर्मचारी हुन्- अंशु कोइराला। उनी यहाँकाे सामानहरू बिलिङ गर्छिन्। यसअघि गोरखापत्रको अभिलेखालय शाखामा काम गरेकी उनीसँग शिक्षण पेशाको समेत अनुभव छ।
धादिङमा जन्मिएर बाल्यकाल र विद्यालय तहको पढाइपछि उच्च शिक्षाका लागि काठमाडौं आइन्। एसएलसीपछि उच्च शिक्षा अध्ययनकै सिलसिलामा उनको मागी विवाह भयो, त्यो पनि १७ वर्षकै उमेरमा।
त्यसबेलासम्म आफूले रोज्ने अवस्था नभएको उनलाई राम्रोसँग याद छ। घर परिवारले कुरा पक्का गरेपछि उनले ‘नाइँ’ भनिनन्। बिहेपछि उनले आफ्नो जीवनमा धेरै कुरा बदलिएको अनुभव गरिछन्।
बाल्यकालमा मामाघरमा हुर्किएकी थिइन् उनी। ‘भान्जीले काम गर्नुहुन्न’ भनेर आरामको जीवन बाँचिरहेकी थिइन्। तर, बुहारी भएपछि सबै जिम्मेवारी उठाउन पर्दा सुरूमा अतालिएको उनी बताउँछिन्। अहिले उनी एक सन्तानकी आमा समेत हुन्।
उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’को आजको अंकमा उनै अन्जुले आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:
०००
हाम्रोमा भान्जीले काम गर्नु हुन्न भन्ने चलन थ्यो। बिहेपछि घरमा दैलो पोत्ने, सासुभन्दा चाँडो उठ्नुपर्ने, आगो फुक्ने, भकारो फाल्ने लगायतका काम गर्दा त निकै गाह्रो भयो।
बिहे भएको दुई वर्षपछि हाम्रो सन्तान भयो। आफैँ पनि बच्चा भएको कारण बच्चा पाइहाल्न पर्छ भन्ने त थिएन। श्रीमान् कामको सिलसिलामा काठमाडौंमा धेरै बस्नुहुन्थ्यो। म प्राय धादिङमै हुन्थेँ। पछि मेरो महिनावारी रोकियो। खाना पनि रुच्न छोड्यो।
अलि लामो समयनै त्यस्तो भएपछि श्रीमान्सँग कुरा गरेँ। के भयो होला भनेर जचाउन गएको, गर्भवती भएको रहेछु। त्यसबेला कता-कता पेट दुखेको जस्तो पनि हुन्थ्यो।रिपोर्ट पजेटिभ आएपछि एक हिसाबले म आमा बन्ने भएँ भनेर खुसी पनि लाग्यो।
अर्कोतर्फ आफैँ सानी छु, बच्चा कसरी हुर्काउने होला भनेर डर पनि लाग्यो। त्यसबेला एकदम मिश्रित अनुभव गरेँ मैले। त्यही बेला ‘प्लस टु’ सकियो। नजिकैको स्कुलमा पढाउन पनि गएँ। मैले केही कामलाई पनि ‘नाइँ’ भनिनँ।
१५ वर्षअघिसम्म पनि गर्भवतीको कसरी हेरचाह गर्ने भनेर उनीहरूको बारेमा खासै सोचिँदैनथ्यो। अहिले जस्तो बेड रेस्ट गर्ने, यो गर्न हुने/नहुने, खान हुने/नहुने बारेमा कसैले पनि केही भन्दैनथ्यो। अहिले कसैले नभने पनि इन्टरनेटले गर्दा सहज भएको छ।
घरमा जे बनेको छ, त्यही खाइन्थ्यो। खाना बनाउँदा साह्रै गन्ध आउँथ्यो। त्यही गन्धले रुच्दैनथ्यो। रुचे पनि नरुचे पनि अर्को विकल्प थिएन। त्यसैले खानैपर्थ्यो। एक पटक गर्भावस्थामा मलाई काँक्रो एकदमै खान मन लागेको थियो। तर, पाइनँ।
त्यसबेला गर्भवती र सुत्केरीको कुरा नै खुलेर गरिँदैनथ्यो। त्यही भएर पनि हो कि जसलाई पर्थ्यो, उसैले सबै गर्थ्यो। कसैसँग कुरा गर्न नपाएपछि धेरै कुरा थाहा नहुने रहेछ। त्यसमाथि घरको काममा व्यस्त हुँदा बाहिर कुरा गर्ने भन्ने पनि थिएन।
बिस्तारै शरीरमा परिवर्तन देखिन थाल्यो अनि पेटमा बच्चा पनि चल्न थाल्यो। पहिला त डर पनि लाग्यो। पछि ‘ओहो मेरो पेटभित्र म जस्तै कोही छ’ भन्ने भएर रोमाञ्चित हुन्थेँ, रमाइलो पनि लाग्थ्यो।
गर्भवती भएको कुरा त लुकाउनुपर्छ जस्तो लाग्थ्यो। सबले त्यही गरेको देख्थेँ। त्यही भएर मैले पनि कुर्था लगाएर सलले पेट छोप्थे। भनेको जस्तो खान नमिल्ने र खान नपाउने भएको कारण म अलि कमजोर नै थिएँ। मेरो तौल पनि खासै बढेन। लामो दुरीको यात्रा गर्दा गाह्रो भए पनि जचाउनका लागि धादिङदेखि काठमाडौंसम्म आउँथे।
गर्वास्थाको समयमा जचाउन काठमाडौं आउँदा बच्चा चल्दा अप्ठ्यारो पनि भयो अनि निहुरिन समेत गाह्रो भयो। परीक्षणमा बच्चा उल्टो बसेको थाहा पाएँ। त्यसपछि म धादिङ फर्किइन लगभग एक महिना काठमाडौंमा नै पूरा आराम गरेर बसेँ।
प्रसव व्यथा सुरू भएपछि अस्पताल गएँ। त्यहाँ त अरु पनि महिलाहरू व्यथामा देखेँ। अनि सबलाई हुने रहेछ, सहने बाहेक अरु विकल्प नै भएन नि! वरपर सबै जना कराइरहेको देखेर म पनि स्वरमा स्वर मिसाएर बेस्कन कराइदिएँ। त्यसो गर्दा पनि शरीरको शक्ति सकिने रछ। पछि आफैँलाई गाह्रो भयो।
धन्न अप्रेशन गर्नु परेन। तर, व्यथा त एक दिन पूरै लागेर गाह्रो भएको थियो। डेलिभरी कक्षमा लगेको केही समयपछि म आमा भएँ। ‘ल तपाईंको छोरा भयो’ भनेको सुनेँ। तुरुन्तै उसलाई हेर्न मन लागेको थियो। तर, तिर्मिर तिर्मिर भएर निदाएछु। मेरो ‘प्रेसर लो’ भएछ।
पछि आँखा खुल्दा त मेरो कपडा बदलिसकेको रहेछ। म अर्कै बेडमा रहेछु। एकदम हल्का महसुस भएको थियो। बाबुलाई मेरो काखमा राखिदिँदा त समात्न पनि आएको थिएन। बाबुको हातको औँलाहरू निकै साना थिए। उसलाई स्तनपान पनि त्यहीँ गराएँ।
बाबु जन्मेको करिब दुई दिनपछि म धादिङ फर्किएँ। त्यसबेला के-के खान नहुने भन्थ्यो। मासु पनि अलि पछि मात्र खान हुने भनेर पूरै ज्वानोको झोल, गुन्द्रुकको झोल मात्र खाएँ। सुत्केरी अवस्थामा ममीले मलाई स्याहार्नुभयो। अहिले पनि बाबु कहिलेकहीँ रिसाउँदा ‘ओहो! मेरो ममीले कसरी गर्नुभयो होला’ भन्ने लाग्छ।
बाबु छ महिनाको भएपछि म प्राय काठमाडौं नै बस्न थालेँ। अनि उच्च शिक्षासँगै काम पनि थालेँ। घरदेखि सब सम्हाल्न पर्दा समय व्यवस्थापन गर्न निकै गाह्रो थियो। तर, श्रीमान् सहयोग गर्नु भएपछि धेरै सहज महसुस गरेँ।
अनि हामीले दोश्रो सन्तानको तयारी गरेनौँ। अरुले अर्को सन्तान जन्माउन कर गरे पनि हामीले नै चाहना गरेनौँ। अब त बाबु नै दश कक्षामा पढ्दैछ। ऊ आफैँ जाने सुन्ने भइसकेको छ। हामीले अब जन्माउने तयारी गर्ने कुरै भएन।
अब बाबुको अगाडि राम्रोसँग पढोस् भन्ने नै हाम्रो चाहना हो। किशोरावस्थामा पुगेको छोरालाई केही अप्ठ्यारो नहोस् भनेर हामी निकै सतर्क हुने गर्छौं। उसले हामीसँग सबै कुरा शेयर गर्छ।
छोराले स्वदेशमै केही गरोस्, विदेश नजाओस् भन्ने हाम्रो सोच छ। तर अब उसले के सोच्छ, के चाहन्छ भन्ने पनि कुरा आउँछ। जे होस् उसलाई पढाइमा कुनै कमी हुन नदिने हामीले सोचेका छौँ।
मातृत्व अनुभव भनेको बढो गज्जबको कुरा रहेछ। एउटा महिलाले त आफूलाई पछाडि राखेर बच्चाको बारेमा सोच्ने हिम्मत आउने रहेछ। म आफैँ आमा बनेपछि धेरै जिम्मेवार बनेको महसुस गर्ने गर्छु।
मंसिर १६, २०८१ आइतबार १५:११:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।