चार हप्तामा ४७ करोड ग्रस कलेक्सन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’को ओपनिङ थियो, जम्मा १७ लाख

चार हप्तामा ४७ करोड ग्रस कलेक्सन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’को ओपनिङ थियो, जम्मा १७ लाख

काठमाडौं : प्रदर्शनको चार हप्तामा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गर्यो। निर्माता तथा वितरण कम्पनी सेभेन सिजका अनुसार २९ नोभेम्बरसम्म ७ विदेशी बजारबाट चलचित्रले २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको छ।

यो चलचित्रले सबैभन्दा बढी कमाउने, एकैदिनमा धेरै कमाउने, सबैभन्दा  बढी शो पाउनेलगायतका विभिन्न रेकर्डहरू बनायो। 

‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रस कलेक्सन गर्दै एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि राख्यो। जब फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आयो, दुई दिनसम्म त दर्शकले वास्तै गरेनन्। त्यसैले पनि यसको पहिलो दिनको कमाई खासै थिएन। 

यो चलचित्रले गरेको ओपनिङ जम्मा १७ लाख मात्र रहेको निर्माता विनोद पौडेलले बताए। 

'पहिलो दिन पूर्ण बहादुरको सारङ्गीले मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नेपालभरबाट १७ लाख ग्रसकलेक्सन गरेको थियो। तेस्रो दिनको दिउँसोबाट देशभर हाउसफुल हुन सुरू भएको थियो, उनले भने। 

उनका अनुसार यो चलचित्रले सबैभन्दा धेरै अर्थात् १६ करोड ९२ लाख दोस्रो हप्ता कलेक्सन गरेको थियो। 

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन्। प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन्।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन्। सेभेन सिस सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।  

मंसिर १६, २०८१ आइतबार १२:१५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।