दार्चुला, गोरखा र गुल्मीमा मतदान जारी
काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा पनि उत्साहपूर्वक मतदान भइरहेको छ।
दार्चुलाको दुहुँ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ। यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो।
गोरखा नगरपालिका-५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ। उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ। यहाँ दुई हजार दुई सय २५ मतदाता छन्। उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो।
त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ। निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ। यो वडामा चार हजार ९१ मतदाता छन्। उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन्।
तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि त्यहाँ उपनिर्वाचन भएको हो।
मंसिर १६, २०८१ आइतबार ११:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।