टिकटकर गिभिनामाथि ब्रजपात 'ट्रकको ठक्करबाट आमाको मृत्यु, सहन नसकेर २४ घण्टामै भाइले गरे आत्महत्या'
काठमाडौं : टिकटकर गिभिना मगरले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन्। गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको २४ घन्टामै उनका भाइले आत्महत्या गरे।
ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसपछि धनकुमारीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले ट्रक र ट्रक चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ स्थायी घर भइ हाल पोखराको बगर बस्ने ट्रकचालक ४५ वर्षीय पृथ्वीप्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
यता, आमाको निधनपछि २४ घण्टा नपुग्दै २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढा घरभित्रै मृत भेटिएका हुन्।
आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।
‘दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन्। अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने।
गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन्। पूर्वी रुकुम घर भएकी गिभिना मंसिर ८ मा विवाह बन्धनमा बाँधिएकी थिइन्।
मंसिर १६, २०८१ आइतबार ११:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।