अरूको जुत्ता र ड्रेस मागेर प्रशिक्षण​​​​​​​ गरेको​​​​​​​ दृष्टिविहीन नेपाली टोली​​​​​​​ पहिलोपटक टी-२० विश्वकपको सेमिफाइनलमा

अरूको जुत्ता र ड्रेस मागेर प्रशिक्षण​​​​​​​ गरेको​​​​​​​ दृष्टिविहीन नेपाली टोली​​​​​​​ पहिलोपटक टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं : नेपाल पहिलोपटक दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्यो। पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्दा नेपालले इतिहास रच्यो।

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ। यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन।

नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्नेछ। यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो। लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार पनि टोली हो।

लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।

पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन्। 

दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ। फाइनल खेल भने मङ्गलबार हुनेछ।

प्लेनमा जाने पैसा नभएर ट्रेनमा गएको नेपाली टोली
टी-२० विश्वकप क्रिकेट खेल्न रूपन्देहीको भैरहवामा रूपन्देही क्रिकेट संघले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको थियो। हवाई जहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो। 

यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट संघसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको भएपनि दृष्टिविहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था रहिरहेको भन्दै यसपटक पनि चौतर्फी आलोचना भयो। 

क्यानको सहयोगमा दाङमा पुगेर प्रशिक्षण गरेको टोलीले जुत्ता र ड्रेसका लागि पनि अरूको मागेर मेहनत गरेको हो। कप्तान रमेश बानियाँले क्यान र शरद भेषावकरले सहयोग गरेको बताए। 

‘हामीलाई शरद सरले जुत्ता सहयोग गर्नुभाको हो। हामी सडक मार्ग हुँदै पाकिस्तान आयौँ। भैरहवाबाट बिदाई भएर गौरखपुरस्मम दुई बसमा आयौँ। गोरखपुरदेखि अमृतसरसम्म ट्रेनमा जाने कुरा थियो। तर, अमृतसर भन्दा ५०० किमी अगाडि नै रोकियो र त्यसपछि हामी ३ वटा बसमा अमृतसर पुग्यौँ। त्यहाँ बोर्डर बन्द भइसकेकोले हामी त्यही बसेर अर्को दिन मात्र पाकिस्तान आइपुग्यौँ’ कप्तान बानियाँले भने। 

मंसिर १६, २०८१ आइतबार ०९:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।