कहाँ, कसरी हुँदैछ स्थानीय तह उपनिर्वाचनको मतदान?

कहाँ, कसरी हुँदैछ स्थानीय तह उपनिर्वाचनको मतदान?

काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

हेटौंडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौंडा उपमहानगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ। 

मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका-१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन्। त्यहाँ आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो। सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन्। 

यसैगरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ। दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो। 

वडा नम्बर १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नम्बर -४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार  डाक्नेश्वरी नगरपालिका-१ मा दुई हजार ६३५ र वडा-४ मा एक हजार २८१ मतदाता छन्। 

दैलेखस्थित महावु गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। 

आज बिहान निर्धारित समयमा सुरू भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गरेका छन्। उक्त निर्वाचनमा सात उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। त्यहाँ एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुराँस मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावि, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन्।  

मंसिर १६, २०८१ आइतबार ०८:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।