एनपिएलको चर्चापछि तेस्रो मधेश प्रिमियर लिगको तयारी थालियो
सप्तरी : मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपिएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो।
राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इञ्जिनियर सञ्जीवनारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ देखिको तयारी रहेको जानकारी गराए।
यतिबेला पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल जारी छ। जसको चर्चापछि एमपिएल पनि आयोजना हुँदैछ।
सन् २०१५ मा सुरू भएको एमपिएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन हुन पाएको थिएन।
'दुई संस्करणमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्यो, पछि कोरोना महामारीलगायत कारणले निरन्तरता दिन सकिएन, अध्यक्ष यादवले भने।
तेस्रो संस्करणका लागि आजदेखि एक महिनासम्म खेलाडीको नाम रजिस्ट्रेसन सुरू गरिएको प्रालिका सचिव इञ्जिनियर तीर्थ दासले बताए। तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ।
प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ। वीरगञ्ज र जनकपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलिने छ।
प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको ५० लाख बजेटका लागि पहल गरिने अध्यक्ष यादवले जानकारी दिए।
मंसिर १६, २०८१ आइतबार ०७:३२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।