एनपिएलको उत्साह उद्घाटनमै स्वाहा !
काठमाडौँ : कमसेकम ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी र खेल पदाधिकारी, अन्तर्राष्ट्रिय मिडिया क्रु, कर्पोरेटको उत्साहजनक सहभागितामा एक अर्ब बराबरको आर्थिक गतिविधि।
सबै कोणबाट नेपाल प्रिमियर लिग भव्य देखिएको थियो। हरेक दिन फ्रेन्चाइज टिमले अनुबन्ध गरेका अन्तर्राष्ट्रिय खेलाडी अनि उनीहरूको नेपाल आगमन, कर्पोरेट ब्रान्डको सहभागितामा पारस खड्का उभिएर खिचिएको फोटो, मुहार बदलिएको टीयु क्रिकेट मैदान। कार्यक्रम भव्य हुन पर्याप्त कारण थियो।
तर जब आठ टिम, उद्घाटन हेर्न चाहने दर्शक सबै उत्साहका साथ टीयु क्रिकेट मैदान वरपर भेला भए सबै चमकधमक तातोको धिपधिप बाँकी रहेको खरानीमा पानी हाले समान चिसो भयो।
टिकट बेचेर कीर्तिमानी काम गरेँ भन्ने क्रिकेट एसोसिएसनमा पदाधिकारी तीनैलाई मैदान प्रवेश गराउन सक्षम देखिएनन्। सुरु नभएसम्म भव्य देखिएको खेलको व्यवस्थापन टोले प्रतियोगिता जत्तिको व्यवस्थित नि देखिएन। खेल हेर्न आएका पाँच अनि खेलस्थलको सुरक्षामा खटिएका दुई प्रहरी भिडमा च्यापिएर सख्त घाइते भए। एकको ज्यान अझै जोखिममा छ।
यी सबै दुर्घटनामा हिजोसम्म जताततै फोटो खिचाउँदै हिँड्न व्यस्त नेपाल प्रिमियर लिग आयोजक समितिका अध्यक्ष पारस खड्का गायब छन्।
उद्घाटनको दिनको माहौल तयारीको दिनकोभन्दा भव्य देखिनु पर्ने हो। स्टार स्पोर्ट्सको स्क्रिनमा कस्तो देखियो कुन्नि। एक्सन स्पोर्ट्सको स्क्रिनमा भने भव्य नै देखिएको थियो।
इन्टरनेशनल स्क्रिनमा जति भव्य देखिए नि लोकल स्क्रिनमा भने भिडमा च्यापिएकाको उद्धार, मैदान बाहिर टिकट काटेकाको मलिन मुहार र मैदानमा टिकटै नकाटी छिर्न पाएकाहरूको उत्साहले ढाकिएको थियो।
एनपिएल घोषणादेखि उद्घाटनसम्मै यो क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को कार्यक्रम कम, पारस खड्का समूहको मात्र कार्यक्रम बढी जस्तै देखिएको थियो। जताततै पारस मात्र देखिए लिगमा, क्यान टिम गायब।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिगको जिम्मा सचिव पारससँगै कोषाध्यक्ष पदम खड्का र सदस्य सुदिप शर्मालाई दिए। पदम चतुरको खेमामा, सुदिपको परिचय चतुर-पारस संयोजन देखिन्छ। एनपिएलका महत्त्वपूर्ण निर्णयमा यी तीन जना नै हाबी भए।
पाँच करोड ९२ लाखमा एनपिएलको कमर्सियल अधिकार किन्ने कम्पनी देखियो ब्रान्ड लजिक। यसलाई पारसले स्ट्राटेजिक एन्ड कमर्सियल राइट्सको अधिकार रहेको खुलाएका थिए।
खेलको प्रचार प्रसार व्यवस्थापन, लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समेत यसै कम्पनीलाई तोकियो। यति गहन जिम्मेवारी पाएको कम्पनी आफैमा यति ठुलो इभेन्टका लागि नयाँ थियो। यसका प्रमुख रोशन निरौला पनि खेल व्यवस्थापनमा नयाँ।
ब्रान्ड लजिक आउँदा यो छाया कम्पनी रहेको र सबै काम पारसले गर्ने दाबी नआएका हैनन्। व्यवहारले पनि त्यही देखायो। जिम्मेवारी अनुसार मुख्य प्रायोजकदेखि प्रसारण अधिकारसम्मममा उनै निरौला र उनको कम्पनी देखिनु पर्ने हो।
तर जताततै पारस देखिए, ब्रान्ड लजिक र निरौला गायब। निजी कम्पनीको फ्लेक्स समात्न उनै पारस दौडिरहेका थिए। मुख्य प्रायोजक घोषणामा पारस थिए। विज्ञापन खोज्न निरौला दौडनु पर्ने हो नि, पारस दौडिए। किन? पारसले सबै काम गर्नु थियो भने निजी कम्पनी किन ल्याएको। कतै देखिए भने निरौला पारस खड्काले जे भन्यो त्यही गर्ने हो भन्ने जवाफ दिन्थे।
यसले कतै पारसले क्यान र लिगको आम्दानीको बिचमा बिचौलिया कम्पनी त ल्याएनन् भन्ने शङ्का बढायो। किनकि खेलको प्रचार प्रसार व्यवस्थापन, लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन ब्रान्ड लजिकले पाँच करोड ९२ लाखमा किनेको थियो।
यो भन्दा कम आम्दानी भए घाटा उसैको, बढी आम्दानी भए नि उसैको। जति कम्पनी लिगसँग जोडिए ती कतिमा जोडिए भनेर न क्यानले खुलाएको छ न त ब्रान्ड लजिकले। यो नै शङ्का बढाउने आधारका लागि पर्याप्त छ।
मुख्य प्रायोजक सिद्धार्थ बैङ्कसँग कतिमा डिल भएको हो, एनसेलसँगको सहकार्यको मूल्य कति हो खुलेको छैन। त्यसमा जुवा खेलाउने कम्पनी वुल्फ७७७ पनि आएको छ। कतिमा, कुन सर्तमा आयो गोप्य छ।
धन्न चतुरबहादुर चन्दले मुख्य प्रायोजक एस सिजनमा चार करोडमा डिल भएको खुलाए। तर मुख्य जिम्मेवार पारस अझै मौन नै छन्।
अझ रोचक पक्ष स्टार स्पोर्ट्स लगायतका प्रसारण संस्थामा देखिन्छ। प्रसारणको अधिकार कसलाई दिने? त्यसको जिम्मा ब्रान्ड लजिकसँग छ।
तर स्टार स्पोर्टस्सँग डिल भने ट्वान्टीफस्ट सेन्चुरी मिडियाले गरेको देखियो। यसले ब्रान्ड लजिक कतै यही इन्टरनेशनल कम्पनीको सरोगेट नेपाली कम्पनी त हैन? शङ्काको ठाउँ छ नै।
तत्कालको प्राथमिकता एनपिएलको सफल समापन नै हो। त्यसपछिका दिनमा पारसले अहिले झैँ भन्न मिल्दैन भनेर कहाँ धर पाउँछन् र!
मंसिर १६, २०८१ आइतबार ००:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।