एनपिएल हेर्न गएका दर्शकबीच धकेलाधकेल हुँदा घाइते भएका एक प्रहरी जवानको अवस्था गम्भीर
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा मैदानमा प्रवेश गर्नेक्रममा भएको झडपमा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक प्रहरीको अवस्था गम्भीर छ।
त्रिवि क्रिकेट ग्राउण्डमा भएको नेपाल प्रिमियर लिगको उद्घाटन खेल विराटनगर किङ्ग्स र जनकपुर बोल्टबीच क्रिकेट खेल हेर्न जाने क्रममा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन्।
गेट नम्बर दुईमा भएको धकेलाधकेलमा उनीहरू घाइते भएका हुन्। अनलाइन टिकट काटेका र मैदानकै काउन्टरमा टिकट काटेकाहरु मैदानमा छिर्न खोज्दा टिकट नभएकाहरु मिसिएर धकेलाधकेल गरेपछि लड्दा उनीहरू च्यापिएका थिए।
टिकट नभएकाहरु मैदानमा छिरेर मैदान भरिएपछि प्रहरीले टिकट भएकालाई भित्र जान रोकेका थिए।
काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बर्ष २५ को जयन श्रेष्ठ कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन्। २६ वर्षीय प्रहरी जवान अजय तामाङ घाइते भई कीर्तिपुर अस्पतालमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि वीर अस्पतालको लागि रिफर गरिएको थियो। उनको न्युरो अस्पतालमा थप उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।
शिशिर गौतमको अनुहार र घाँटीमा चोट लागेको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
केशव आचार्य, प्रहरी जवान दान बहादुर राउत, केशव नेगि र प्रेम खड्कीको उपचार भइरहेको अधिकारीले बताए।
मंसिर १५, २०८१ शनिबार २०:०३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।