डा. सुभाषको उपचार अनुभव : एपेन्डिसाइटिस फुटेर आन्द्रा जमेका ११ वर्षीय बालक चामत्कारिक रूपमा बाँचेपछि...
डा. सुभाष पाण्डेय ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विशेषज्ञ चिकित्सक हुन्। समग्र रोगको उपचार गर्ने चिकित्सकीय विद्याको अध्ययन गरेका उनले चिकित्सकीय पेशाको शिलशिलामा दुर्गमका बिरामीले भोग्नु परेको दुःख तथा पिडा नजिकबाट नियालेका छन्। बर्दिया अस्पतालमा कार्यरत उनै डा. सुभाषले चिकित्सकीय पेशाको शिलशिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन् :
000
११ वर्षीय बालक चामत्कारिक रूपमा बाँचेको त्यो प्रसंग
प्रसंग सन् २०१० तिरको हो। त्यो बेला जतिबेला डा. सुभाष महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको ‘एमडीजिपीइएम’ अध्ययनको क्रममा पोष्टिङ भएर ओखलढुंगाको एक सामुदायिक अस्पतालमा पुगेका थिए। यो विधाको अध्ययन गर्ने चिकित्सकले अध्ययनका क्रममा दुर्गमका जिल्लामा गएर पनि काम गर्नुपर्ने हुन्छ। त्यही शिलशिलामा उनी ओखलढुंगा पुगेका थिए।
एक दिन करिब १२ वर्षका बालकलाई अस्पताल पुर्याइयो। ती बालकलाई दुई हप्तादेखि अत्यधिक पेट दुखिरहेको रहेछ। डा. सुभाषले ती बालकको स्वास्थ्य अवस्था हेरे। पेट दुखेर बालक फत्र्याक-फत्र्याक गरिरहेका थिए।
स्वास्थ्य जाँच गर्दा ती बालकको एपेन्डिसाइटिस (आन्द्रा) फुटेर पेटभरी पिप नै पिप जमेको थाहा भयो। जसका कारण बालकको पेटमा संक्रमण फैलिएको थियो। बालकको स्वास्थ्य अवस्था यति जटिल बनिसकेको थियो की उपचारपछि पनि बचाउन कठिन थियो। ती बालकलाई सुविधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया गरी उपचार गरेमात्रै बाँच्न सक्ने झिनो आशा थियो। त्यसैले डा. सुभाष र अर्का एकजना चिकित्सकको टिमले बालकको प्राथमिक तथा आकस्मिक उपचार गर्दै थप उपचारका लागि अन्यत्र सुविधासम्पन्न अस्पतालमा लान अनुरोध गर्यो।
तर, आर्थिक अवस्था कमजोर भएका बालकका बुवाआमाको भने छोरालाई अन्यत्र लगेर उपचार गर्न सक्ने हैसियत नै थिएन। त्यसैले ती बालकका बुवाआमाले चिकित्सकहरूसँग हात जोड्दै ‘मरेपनि बाँचेपनि, जेसुकै भएपनि’ छोराको त्यहीँ उपचार गरिदिन अनुरोध गरे। ती बालकका बुवाआमाले उपचारका लागि अन्यत्र लान नसक्ने भन्दै हात जोडेर छोरालाई त्यहीँ नै उपचार गरेर बचाइदिन अनुनय विनय गरेको देख्दा डा. सुभाषको मन कटक्क भयो। उनी भावुक बने।
त्यसपछि त्यहीँ उपचार प्रयास नगरेको खण्डमा बालकको मृत्यु निश्चित थियो। त्यसैले डा. सुभाष र अर्का एक चिकित्सकको टिमले जोखिम मोलेरै भएपनि बालकको त्यहीँ उपचार गर्ने निर्णय गरे।
स्रोत साधनको अभावका बाबजुद डा. सुभाषको टिमले ती बालकलाई बचाउन पेटको शल्यक्रिया गर्ने निर्णय गर्यो। बालकलाई शल्यक्रिया कक्षमा लगियो। त्यहाँ बेहोस बनाउने एनेस्थेसियोलोजिष्ट चिकित्सक थिएनन्। त्यसैले डा. सुभाषको निगरानीमा ती बालकको ढाडमा एनेस्थेसिया सहायकले सुई लगाएर बालकलाई बेहोस बनाए। अनि डा. सुभाषको टिमले ती बालकको पेटको शल्यक्रिया थाल्यो।
शल्यक्रिया गरी पेट खोलेर हेर्दा त एपेन्डिसाइटिस फुटेर पिप फैलिएर जमेको थियो। पिप फैलिएर जमेका कारण ती बालकको पेटका आन्द्रा नै एक आपसमा टाँसिएर जमेका थिए। पिपका कारण सिमेन्टले प्लास्टर गरेजसरी आन्द्रा एकआपसमा जमेको देखिएपछि चिकित्सकको टिमले पेट खोलेर पनि केही गर्न सक्ने अवस्था भएन। पिप जमेर टाँसिएका कारण आन्द्रा चलाउँदा चुटिएर बालकको तुरुन्तै मृत्यु हुने जोखिम देखियो।
त्यसैले चिकित्सकको टिमले आन्द्राको शल्यक्रिया नगरी आन्द्रामा जमेको पिप पेट बाहिर फाल्नका लागि पेटमा एउटा पाइप राखिदिए। अनि बालक बाँच्ने झिनो आशाकासाथ पेट बन्द गरेर सिलाई दिए।
भाग्य नै भन्नुपर्छ, बालकको पेटमा राखिएको पाइपको माध्यमबाट बिस्तारै पेट तथा आन्द्रामा जमेको पिप पेट बाहिर निस्कन थाल्यो। चिकित्सकको टिमले जानेसम्मको औषधि उपचार गरिनै रह्यो। चिकित्सकको टिमको मेहनतकै कारण ती बालकको पेटमा जमेको पिप बाहिर निस्किसकेछ। आन्द्रा सोझिएछन्। टाँसिएका आन्द्रा सामान्य अवस्थामा फर्किँदै गए।
उपचार थालेको दशौं दिनमा त बालकले दिसा गर्न थाले। बिस्तारै बालक सामान्य अवस्थामा फर्कँदै गए।
धन्य, बालकको ज्यान बाँच्यो। माया मारिएका छोरा बाँचेपछि बुवाआमाको खुसीको सीमा नै भएन। करिब दुई हप्ताको अस्पताल बसाइपछि छोरा बचाइदिने चिकित्सकप्रति कृतज्ञहुँदै बालकका बुवाआमा छोरा लिएर घर फर्के। ती बालकका बुवाआमा पछि फलोअपमा आउँदा छोरा बचाइदिने चिकित्सकप्रति कृतज्ञहँदै खुट्टानै ढोग्न खोज्थे। त्यो प्रसंग सम्झँदा डा. सुभाषलाई अझै आनन्द लाग्छ।
मृत्युको मुखमा पुगेकी १८ वर्षे गर्भवतीलाई बचाएको त्यो प्रसंग
प्रसंग करिब ११ वर्ष अघिको हो। जतिबेला उनी एमडीजिपीई अध्ययन सकेर करार जागिरेका रुपमा जिल्ला अस्पताल धादिङमा काम गरिरहेका थिए।
अस्पतालमा एक जना करिब १८ वर्षीय युवतीलाई ल्याइयो। ती युवती सुत्केरी ब्यथाले च्यापेर छटपटाइरहेकी थिइन्। डा. सुभाषले ती गर्भवतीको स्वास्थ्य अवस्था हेरे। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उमेर कम भएकै कारण सुत्केरी ब्यथाले च्यापेपछि ती युवतीको उच्च रक्तचापको समस्या भयो। जसले गर्दा मुटुको चाल अस्वाभाविक अवस्थामा थियो। तुरुन्तै सिजरियन सेक्शन (शल्यक्रिया) गरी गर्भको बच्चा ननिकाले ती उनको ज्यान जाने जोखिम बढिरहेको थियो। शल्यक्रियाका क्रममा रक्तश्रावको जोखिम भएकाले रगतको व्यवस्थापन गर्नुपर्ने थियो।
तर, अस्पतालमा न ‘ब्लड बैंक’ थियो, न आवश्यक स्रोत साधन नै। डा. सुभाषले शल्यक्रियाका लागि आवश्यक सामग्री जुटाए। अनि कति पनि ढिला नगरी डा. सुभाषको टिमले ती महिलालाई शल्यक्रिया कक्षमा लग्यो। त्यहाँ शल्यक्रियाका लागि बेहोस बनाउने एनेस्थेसियोलोजिष्ट चिकित्सक थिएनन्। त्यसैले सबै तयारी पछि तुरुन्तै उनको निगरानीमा एनेस्थेसिया सहायकले ती युवतीको ढाडमा सुईको माध्यमबाट एनेस्थेसिया औषधि दिएर ढाड भन्दा तलको भाग लठ्याए। अनि उनले ती युवतीको शल्यक्रिया थाले।
केहीबेरको मेहनतपछि शल्यक्रिया गरी ती युवतीको गर्भको बच्चा निकालियो। अनि निश्चित प्रक्रियापछि शल्यक्रिया सफल भयो। डा. सुभाषले ज्यान नै जोखिममा परेका आमा र बच्चा दुवैलाई बचाए। ती युवती बाँचेर केही दिनको अस्पताल बसाइपछि बच्चा च्यापेर घर फर्किइनन्।
मृत्युको मुखमा पुगेकी ती युवती बाँचेर अस्पतालबाट डिस्चार्ज भएपछि मुस्कुराउँदै बच्चा च्यापेर घर फर्किएको सम्झँदा अझै उनलाई आनन्द लाग्छ।
एमडीजिपीइएम अध्ययनपछि डा.सुभाष धादिङको जिल्ला अस्पतालमा पुगेर गरेको त्यो नै ठूलो (मेजर) शल्यक्रिया थियो। त्यतिमात्रै हैन, ती गर्भवती युवतीको गरिएको त्यो नै जिल्ला अस्पताल धादिङको पहिलो ठूलो शल्यक्रियासमेत भएको डा. सुभाषले अनुभव सुनाए। त्यो सफल शल्यक्रियापछि उनलाई अस्पतालले सम्मान गर्यो।
महोत्तरीमा जन्म र एमबीबीएस अध्ययन
सुभाष पाण्डेय २०३७ मा महोत्तरीको मनरा शिशवा नगरपालिका वडा नम्बर-८ मा जन्मिएका हुन्। उनले पाँच कक्षासम्म त्यहींको सरकारी विद्यालयमा पढे। उनका बुवा सरकारी शिक्षकका रुपमा जागिरे थिए।
उनका भिनाजु (ठूलोबुवाका जुहाईँ) काठमाडौंस्थित विद्युत प्राधिकरणका जागिरे थिए। त्यसैले उनी पनि काठमाडौं आएर भिनाजुकहाँ बसेर सिद्धार्थ वनस्थली विद्यालयमा कक्षा ६ देखि पढ्न थाले। उनलाई सुरुमा काठमाडौंको माहोलमा घुलमिल हुन निक्कै मुस्किल पर्यो। गाउँमा विद्यालयमा नै सर्वोत्कृष्ट भएका उनको सिद्धार्थ बनस्थलीमा पढ्दा नेपाली र गणित विषयमा राम्रो नम्बर आयो। तर, प्रथम त्रैमासिक परीक्षामा अंग्रेजीमा पढ्नुपर्ने अन्य चार वटा विषयमा भने उनी फेल भए। त्यसपछि उनी झन् मेहनत गर्न थाले।
सुभाषले सात कक्षा पास गरेपछि भिनाजुको पोखरा सरुवा भयो। त्यसपछि उनी पनि भिनाजुसँगै पोखरा गएर पुनः सात कक्षामा दोहोर्याएर पढ्न थाले। उनले सात र आठ कक्षा पोखराको शिशु निकेतनमा पढे। आठ कक्षाको वार्षिक परीक्षामा पूरै विद्यालयमा नै आफू तेस्रो हुन सफल भए। फेरिपनि पोखराबाट उनका भिनाजुको अन्यत्र सरुवा भयो। पोखरापछि बिराटनगरस्थित कान्छी दिदीको घरमा बसेर अरनिको बोर्डिङ स्कुलमा नौ कक्षामा भर्ना भएर पढ्न थाले। उनले त्यहीँबाट २०५३ मा ७१ प्रतिशत अंककासाथ प्रथम श्रेणीमा एसएलसी पास गरे।
एसएलसीपछि भारतको आन्द्र प्रदेश पुगेर ‘अल इन्डिया सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन’बाट उनले उच्च अंकका साथ प्लसटु गरेर नेपाल फर्किए। सुभाषलाई डाक्टर वा इन्जिनियर दुईमध्ये एक बन्ने इच्छा थियो। तर, उनले डाक्टरी विषय नै अध्ययन गर्ने निर्णय गरे।
त्यसपछि सुभाषले काठमाडाैँ विश्वविद्यालय अन्तर्गत सन् २००० मा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएर एमबीबीएस अध्ययन थाले। उनले काठमाडौंका प्रसूति गृह, कान्ति बाल अस्पताल, वीर अस्पताल, नेपाल आर्मी जस्ता विभिन्न सरकारी अस्पतालमा इन्टर्नसिप गरे। इन्टर्नसिपसहित उनको सन् २००६ मा एमबीबीएस अध्ययन पूरा भयो। त्यो बेला एमबीबीएस अध्ययनका लागि करिब १७ लाख खर्च भएको उनले सुनाए।
एमबीबीएस अध्ययनपछि डा. सुभाष सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर करिब एक वर्ष मेडिकल अधिकृतका रुपमा काम गरे। धरानपछि उनले काठमाडौंका विभिन्न निजी अस्पतालहरूमा करिब आठ महिना काम गरे।
छात्रवृत्तिमा एमडीजिपीइएम अध्ययन
डा. सुभाषलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनी त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००८ मा स्नातकोत्तर तहको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विषय अध्ययन गर्न थाले। उनले एमडीजिपीइएम अध्ययनको क्रममा पाल्पाको मिसन अस्पताल, ओखलढुंगालगायतका जिल्लामा गएर काम गर्ने मौका पाए।
सन् २०११ मा उनको एमडीजिपीइएम अध्ययन पूरा भयो। उनले छात्रवृत्तिमा एमडीजिपीइएम अध्ययन गरेका रहेछन्।
एमडीजिपीइएम अध्ययनकै क्रममा सन् २००९ उनको विवाह पनि भयो। उनकी श्रीमती पनि चिकित्सक (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ) हुन्। उनीहरुका आठ र छ वर्षका दुई छोरीहरू छन्।
एमडीजिपीइएम अध्ययनपछि डा. सुभाष धादिङको जिल्ला अस्पतालमा काम गर्न पुगे। जिल्ला अस्पताल धादिङमा नै पहिलो पटक बच्चा जन्माउन नसकेकी महिलाको सिजरियन सेक्शन (अप्रेशन) लगायतको शल्यक्रिया गरेको उनले अनुभव सुनाए।
उनले धादिङमा करिब २२ महिना काम गरे। धादिङपछि डा. सुभाष नेपालगञ्जको कोहलपुरस्थित ‘नेपालगञ्ज मेडिकल कलेज’मा काम गर्न पुगे। त्यहाँ उनले अस्पतालको सहायक निर्देशक र आकस्मिक विभागको प्रमुखको भूमिकामा सन् २०१३ मा काम गर्न थाले। त्यहाँ उनले साढे तीन वर्ष भन्दा बढी काम गरे।
सरकारी जागिरमा प्रवेश
नेपालगञ्जको कामपछि २०७३ मा लोकसेवा परीक्षामार्फत डा. सुभाष नऔं तहको विशेषज्ञ सरकारी स्थायी चिकित्सकका रुपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी चिकित्सकका रुपमा जागिरे भएपछि डा. सुभाष पहिलो पोष्टिङ भएर तत्कालीन जिल्ला अस्पताल बर्दिया पुगे। जुन अस्पताल हाल लुम्बिनी प्रदेश अन्तर्गतको अस्पतालको रुपमा रुपान्तरण भएको छ। बर्दियामा नै काम गरिरहँदा कर्मचारी समायोजनका क्रममा संघ अन्तर्गत परेर उनको पोष्टिङ भेरी अस्पतालमा भयो। तर, उनलाई काजमा बर्दिया नै खटाइयो।
दशौं तहमा बढुवा भएका डा. सुभाष हाल बर्दिया अस्पतालमा नै अस्पताल प्रमुखको भूमिकामा कार्यरत छन्। बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा नै पाँच वर्षयताको मूल्यांकनमा उच्च स्थानमा रहँदै आएको उनले सुनाए।
डा. सुभाषले राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पुरस्कारसमेत पाएका छन्। त्यसैगरी जिल्ला प्रशासन कार्यालय, बर्दियाले उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मानसमेत गरेको अनुभूति उनले सुनाए। प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दिया लगायतबाट उनी पुरस्कृत भएका छन्। लुम्बिनी प्रदेशबाट प्रदेश सेवा समर्पण पदक पाएको उनले सुनाए।
एमडीजिपीइएम समग्र रोगको उपचार गर्ने चिकित्सकीय विधा हो। यो विधाका चिकित्सकले विशेषगरी प्राथमिक, आकस्मिकरुपमा उपचार, विशेषज्ञ उपचार अनि आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रियासमेत गर्न सक्छन्। रोगको प्रकृति अनुसार थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसार सम्बन्धित विशेषज्ञकहाँ बिरामीको रेफर गर्नु एमडीजिपीइएम चिकित्सकको विशेषता हो। चिकित्सकीय अभ्यास मात्रै हैन, प्रशासकीय जिम्मेवारीको दृष्टिले समेत यो विधाका चिकित्सकको अध्ययनकै क्रममा राम्रो ज्ञान पाउने उनले अनुभव सुनाए।
सीमित स्रोत र साधनका बाबजुद पनि प्राथमिक तथा आकस्मिक उपचार गर्न सक्नु एमडीजिपीइएम चिकित्सकीय विधाका चिकित्सकको विशेषता हो। त्यसैले नेपालजस्तो भौगोलिक अवस्था भएका सबै दुर्गमका जिल्लाहरूमा एमडीजिपीइएम चिकित्सकको व्यवस्थापन हुन जरुरी देखिएको उनले सुनाए। चिकित्सकीय पेशाको व्यस्तताका कारण आफन्त तथा परिवारसँग सहज रुपमा भेटघाट गर्न नपाउँदा भने कहिलेकाहीँ उनलाई अलि खल्लो लाग्छ।
मंसिर १५, २०८१ शनिबार १९:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।