उपनिर्वाचनको तयारी सकियो, ४१ पदका लागि ३७६ उम्मेदवार चुनावी मैदानमा
काठमाडौं : निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ।
आयोगककी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहतको ईशनाथ नगरपालिका वडा नम्बर ७, रौतहटका राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा निर्वाचन हुनेछ।
काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर १६, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, जाजरकोटको कुसे गाउँपालिका वडा नम्बर ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, बझाङको सूर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।
यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनका लागि मङ्सिर २ मा उम्मेदवारी दर्ता भएको थियो।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।
आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको जनाएको छ।
मंसिर १५, २०८१ शनिबार १७:४७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।