एनपिएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई हरायो
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले विजयी सुरूआत गरेको छ।
कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुरूआत गरेको हो।बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकमा विराटनगरविरुद्ध जनकपुरले सहज जित निकाल्यो।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडेका छन्। उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे। १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए।
बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए।
अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।
प्रतियोगितामा भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।
मंसिर १५, २०८१ शनिबार १५:३४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।