टीयू मैदानमा क्रिकेटप्रेमीको थामिनसक्नु भीड

टीयू मैदानमा क्रिकेटप्रेमीको थामिनसक्नु भीड

काठमाडौं : नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ।

सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरू हुनु तीन घण्टा अघिदेखि दर्शकहरू प्रवेशद्वारमा खचाखच थिए। 

उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने भएकाले आ-आफ्ना टिमका समर्थकहरू प्लेकार्ड र खेलाडीका तस्वीरहरू बोकेर मैदान परिसरमा देखिन्थे। खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ।

विश्वचर्चित खेलाडीहरूको आगमनले एनपीएलको क्रेज थप बढेको छ। नेपाली क्रिकेटप्रेमीहरू विशेषगरी स्टार खेलाडीहरूको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन्।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै, टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन्। 

यता, विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन्। विश्वभरका फ्रेन्चाइज लिगको अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरुको क्रेज तुलनात्मक रुपमा बढी देखिएको छ। 

मैदान परिसरमा भेटिएका दर्शकहरुले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन्। मैदान परिसरमा भेटिएका दर्शक विवेक धितालले विराटनगरको समर्थनमा आएको प्रतिक्रिया दिए। 

‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ। टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन,’ उनले भने,‘जे होस म क्रिकेटको ठूलो फ्यान हुँ।’

जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरू रहेको प्रतिक्रिया दिए। 

मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरुले सन्दिप लामिछाने आबद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए।  

मंसिर १५, २०८१ शनिबार १५:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।