जातका कुरा : डाक्टरको डिग्री भन्दा जातको डिग्री ठूलो रहेछ
केही महिनाअघिमात्रै, ७० नाघेका पुरूष रौतहट जिल्ला अस्पतालमा भर्ना भए। राउन्ड लिने क्रममा डाक्टर रामजी रामले ती बिरामीलाई परीक्षण गरे। ती बिरामीको घुँडामा घाउँ थियो, डाक्टर रामजीले अन्डा र दाल खान सुझाए। त्यसबेलासम्म ती बिरामीले रामजीलाई डाक्टर हो जस्तो मानेका रहेनछन्।
फ्याट्टै सोधिहालेछन् पनि- तपाईं त डाक्टर हो जस्तो लागेको छैन। के गर्नुहुन्छ, कहाँ हो घर?
जवाफमा रामजीले ‘म डाक्टर रामजी राम हो…’ मात्र के भनेका थिए, ती बिरामी बाजे शसंकित भइहाले। ‘राम? राम भनेको त चमार हैन?’, यसो भन्दै गर्दा ती बाजेको अनुहारको एक्सप्रेसन नै बद्लिसकेको थियो।
त्यसपछि एकछिन डाक्टर रामजी र ती बाजेको संवाद भयो:-
बाजे : थाहा छ, बौवा! तिम्रो जातको मान्छे डाक्टर बन्नै सक्दैन नि!, तिमी चैँ कसरी बन्यौ?
रामजीले आफ्नो बेलिविस्तार सुनाए।
बाजे : यसलाई सानो नसम्झिनु है। डाक्टर धेरै ठूलो मान्छे हो।
सुनेर रामजीलाई राम्रो लाग्यो।
कुरा भोलिपल्टको हो। रामजी उसैगरी बिरामी हेर्न पुगे। ती बाजे नजिक पुगेर सन्चो-बिसन्चो सोधे। बाजेले आफूलाई ठीक हुँदै गएको बताएपछि रामजीलाई भने, ‘औषधि खानलाई पानी ल्याइदिनुस् न बाबु, छोरो (कुरूवा) घर गएको छ।’
बिरामीको सेवा गर्नु आफ्नो धर्म ठान्ने रामजीले पानी ल्याइदिए। तर, ती बाजेले पानी खान मानेनन्।
‘अहो, पानी चैँ मिल्दैन है’, अनुहार खुम्च्याउँदै बाजेले भने। रामजीले त्यसको कारण सोधे।
‘३० वर्षअघिसम्म तपाईंको जातको कुनै मुर्गा-मुर्गी (कुखुरा) पनि हाम्रो घरमा आएर छोयो भने त्यसको हर्जना तिराउँथ्यौं। त्योबेला धान पनि छोइन्थ्यो झन् यो पानी त निकै परको कुरा भैगोनी...’ ती बाजेले भने।
अघिसम्म आफैँ पानी मागेका बाजेले त्यतिबेला रामजीको जात बिर्सेका रहेछन्, झट्ट सम्झिनेबित्तिकै ‘पानी चैँ हुँदैन’ भनिहाले।
डाक्टर रामजीलाई मनमा कहिँ कतै चसक्क बिझेको हुँदो हो। तर, उनले त्यस्को केही प्रतिवाद गरेनन्।
सरल भएर ती बाजेलाई सोधे, ‘औषधि खानुहुन्छ नि?’
‘औषधिमा त के हालेको छ र, त्यो छोइँदैन’, बाजेले भने।
रामजीले फेरि सोधे, ‘अनि पानीमा चैँ के राखेको छ त! पानी झन् सबैभन्दा ठूलो औषधि हो।’
बाजे एकछिन मौन देखिए।
बरू रामजीनै फेरि बोले, ‘थाहा छ बुवा, आजभोलि त यस्तो कुरा गर्दा जेल पो गइन्छ।’
पेशाले डाक्टर थिए रामजी। तर, बिरामीकै अगाडि डाक्टरको डिग्रीभन्दा ठूलो जातको डिग्री कहलियो।
‘औषधि चल्यो तर, पानी चलेन। सरकारले दिएको डिग्रीले औषधि खुवाउन लायक भएँ तर पानी खुवाउन मेरो जन्मिँदैको जातको डिग्रीले छेक्यो’, रामजीलाई यस्तै लाग्यो।
त्योबेला रामजीको मनमा आइरह्यो, ‘जातले ठूला भनिने र हामी साना भनिने दुवैलाई घाटा गरिराको रहेछ। हामी पानी खुवाउन नपाएर विभेद्मा छौँ। ती ठूला भनिएका बाजे पानी खान नपाएर दु:खमा हुनुहुन्छ, आखिर घाटा त उहाँलाई पनि छ नि!’
०००
तीन कक्षामा पढ्दै गर्दाको बेला हो, २०६० तिर। दुईदेखि तीन कक्षामा जाँदा ‘चमार पनि फर्स्ट हुन्छ, पक्कै पनि चिट चोरेर होला’ भन्दै शिक्षकले नै कुटे। जुन कुटाइको चोट पछिसम्म पनि हातमा रहिरह्यो। रामजी आफैँलाई पनि यो कुराले लामो समय चोट दिइरह्यो।
स्कुलमा फर्स्ट भएपछि रामजी सबैको नजरमा परे। त्यस अघिसम्म स्कूलमा केही खेलाउनै नमान्ने रामजीलाई फर्स्ट भएपछि सिनियर दाइहरूले क्रिकेट खेल्न बोलाउँथे।
प्रसङ्ग यही बेलाको हो। क्रिकेट खेलिरहँदा रामजीले एक जना सिरियर विद्यार्थीको बल क्याच गरे। त्यहीनै बेला ती सिरियर दाइले ‘तेरो यत्रो हिम्मत दलित भएर मेरो बल समात्ने?’ भन्दै कुटे। त्यसपछि उनले क्रिकेट नै खेल्नै छाडिदिए।
जातको कारणले रामजीले कतितिर हन्डर खाएनन् होला! त्यो त न भनिसाध्य छ, न त सुनिसाध्य नै। गाउँमा मुखियाको घरमा मात्र कुवा थियो। रामजी पनि कहिलेकहीँ पानी लिन जान्थे। तर, पानी छोइन्थ्यो। त्यसबेला कस्तो लाग्थ्यो रमजीलाई?
फेरि पनि रामजीकै शब्दमा, ‘कुवा भुइँमा जोडिएको छ। मैले पनि भुइँलाई नै छोएको छु। त्यसो हुँदा त मैले छोएको माटोले उनीहरू (गैरदलित)को पानीलाई छोएकै छ नि! मैले हातले छुँदा छोइने माटोले छुँदा नछुने?’
रामजीले बाँचेको समाज त्यही थियो, जहाँ दलितहरूको मुर्गी (कुखुरा)ले गैरदलित यादवहरूको धान छोयो भनेपनि क्षतिपूर्ति तिर्नुपर्थ्यो।
०००
रौतहटको गढीमाईमा जन्मिएका हुन् रामजी। स्थानीय प्राथमिक विद्यालयबाट पाँच कक्षामा पढेका उनले २०६७ मा सरस्वती माविबाट एसएलसी पास गरे। त्यसपछि २०७० मा श्री माध्यमिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरे।
रामजीले विज्ञान पढ्नुको पनि आफ्नै कारण छ:
बहुसंख्यक दलित र केही गैरदलित मिश्रित गाउँमा हुर्केका हुन् रामजी। थोरै संख्यामा भए पनि रामहरूमाथिको शोषण चैँ यादवहरूले गरिरहेकै थिए/छन्। रामजीका लागि मुख्य प्रतिस्पर्धी तिनै यादवहरू थिए। जसलाई हरेक क्षेत्रबाट जित्न चाहन्थे रामजी।
यही मेसोमा गाउँका ठूलाबडा मानिने यादवहरूले विज्ञान विषय पढेको रामजीले थाहा पाए। उनी पनि ती यादवहरू भन्दा कम हुन किन पो चाहन्थे र! त्यसपछि विज्ञान लिएर प्लसटु तहको पढाइ सके।
रामजीकै शब्दमा, ‘ती हामीलाई हेप्नेहरूसँग सबै तवरले भिड्न चाहन्थेँ म। बलले हेप्छ भने बलैले अनि बुद्धिले हेप्छ भने बुद्धिले। बुद्धिका लागि पढ्नुपर्ने रहेछ। त्यसैले सबभन्दा बढी टफ विषय साइन्स पढेँ।’
प्लसटुपछि के गर्ने भनेर सोच्दैगर्दा प्रेसर कुकर बनाउन भिनाजुसँग काठमाडौं आए, २०७० मा। प्रेसर कुकर बनाउँदै जाँदा चार हजार रूपैयाँ कमाइसकेक थिए। अनि यही क्रममा एक जना आफन्तीले जानकारी दिएपछि उनी चिकित्सक अध्ययन गर्न थाले।
त्यस दौरानमा रामजीले के संघर्ष गर्न बाँकी रह्यो र! सुकुम्बासी बस्तीमा ट्युसन पढाउनेदेखि प्रेसर कुकर बनाउनेसम्म सबै गर्न भ्याए। त्यसैले त अहिले उनी ‘रामजी चमार’बाट ‘डाक्टर रामजी राम’ भएका छन्।
०००
त्यसबेला रामजी पाँच कक्षामा पढ्थे। ब्रह्मादेव मन्दिरको कुरा हो, दशैंको जमारा लगाउने दिन थियो। साथीहरूसँगै जमरा लगाउने गए रामजी पनि। दलित भएकै कारण उनलाई पण्डितले जमारा लगाइदिएनन्। हो, त्यही दिनदेखि मन्दिरप्रति रामजीको मन कुँडिएको।
त्यसपछि त उनलाई ‘हाम्रो लागि त्यो बनाइएकै हैन’ भन्ने लाग्न थाल्यो। अहिले त हिन्दू धर्ममा रहेको जातव्यवस्था नै दलितहरूको मुख्य वर्गशत्रु हो जस्तो लाग्न थालेको छ। त्यसैले पनि जात व्यवस्थाविरुद्ध बहसपैरवी गरिरहन्छन् रामजी। एक थरीले त डाक्टरीसँगै दलित अभियन्ता पनि भन्छन् रामजीलाई।
२०७० मा, रामजीको मामाको बिहे भएको थियो, रौतहटकै भिन्डावरमा। जन्ती जानेक्रममा ब्रह्मा मन्दिर छोइयो। त्यसपछि के भयो? अहो, त्यसपछि त् के हुनु र! स्थानीय यादव समुदायले रामजीको मामाको घरमात्र भत्काइदिएनन्, मामाको जन्ती जाने राम समुदायको पुरै गाउँ (७० बढी घरहरू) भत्काइदिए। कुटाइ त सामान्यजस्तै भैगो।
यो घटनापछि भने उनले अध्ययनको दायरा बढाए। हिन्दू धर्मका ग्रन्थहरू पढ्न थाले अनि निष्कर्ष निकाले, ‘आजका दलितहरूमाथिको विभेद हिन्दू धर्म ग्रन्थमै छ।’
०००
एक जना डाक्टर रामजी राम हैन, हजारौं रामजीहरू डाक्टर बन्नुपर्छ। डाक्टरमात्र पनि हैन, लाखौं रामहरू इन्जिनियर बन्नुपर्छ, सचिव बन्नुपर्छ, सांसद् बन्नुपर्छ, मन्त्री बन्नुपर्छ अनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने लाग्छ रामजीलाई।
उनलाई यही सोचेर घरीघरी डाक्टर बनेकोमा दिक्क पनि लाग्छ। दिक्क त्यतिबेला लाग्छ, जतिबेला उनलाई लाग्छ कि यो रामहरू सांसद् अनि मन्त्री बन्ने विषय राजनीतिसँग सम्बन्धित छ। तर, रामजी फगत एक डाक्टर मात्र हुन्।
रामजीले अहिलेसम्म चिकित्सक पेसामा जातीय विभेद अनुभव गरेका छैनन्। फेरि पनि रामजी आफू डाक्टर बनेकोमा भने जातकै कारण भएको मान्छन्। आफ्नो मुख्य हौसला नै जात भएको उनलाई लाग्छ।
‘तिमी डिसेबल छौँ, बिकज अफ फलानो जात भन्ने सबैले तर, अहँ, म स्वीकार्दिनँ। हो, यही भनेर मैले मेहनत गरिरहेँ, अनि डाक्टर बनेँ’, उनले सुनाए।
नेपाली समाजमा पढ्दैमा सम्मानित हुने हैन। यहाँ सबैभन्दा ठूलो डिग्री जात हो, रामजीलाई यस्तै लाग्छ। मान्छेहरू भन्छन्, कर्मअनुसारको जात हो। त्यसोभए कर्म बद्लिँदा जात किन बद्लिदैन? मैले कर्म बद्लेर डाक्टर बन्दै गर्दा पनि किन ‘चमार’नै छु?
०००
जातीय विभेद बिस्तारै घट्दै जान्छ भन्नेलाई रामजीको जवाफ के छ?
-कसैलाई पेट दुखेको छ, सर्जरी गर्नुपर्ने अवस्था आइसक्यो। अब तपाईंले बिस्तारै हुँदै जान्छ भन्न मिल्छ? मान्छे पेटको त्यही समस्याले तत्काल मर्नसक्छ। अनि तपाईं सम्मानको समस्या, अस्तित्वको समस्यालाई बिस्तारै हुँदै जान्छ भनेर टार्न सक्नुहुन्छ? अस्तित्वको लडाइँमा दलितहरू मरिरहने अनि बिस्तारै हुँदै जान्छ भनेर टारिरहने? अझै कति दलितहरू मर्नुपर्ने हो?
संसारमा कुनै पनि औषधिले जातको समस्या समाधान गर्न नसक्ने भएकाले जरै उखेलेर फाल्नुपर्ने तर्क राख्छन् रामजी। त्यसैले जातीय विभेद अन्त्य नहुन्जेल जातको कुरा गरिरहने उनी सुनाउँछन्।
डाक्टर भएर पनि कति जातको कुरा गरिरहेको भन्नेहरूलाई पनि उनको जवाफ यही हो। यत्तिले पनि नपुगे उनको थप प्रश्न छ, ‘मैले नगरे कसले गर्ने? कि तपाईं गर्नुस् म छाडिदिन्छु। कसै न कसैले त गर्नुपर्यो नि!’
कोभिड लाग्दा सिंगो देश एक ठाउँमा आउन हुने, जातीय विभेदले कयौं दलितहरू मरिरहँदा देश एकठाउँ आउन नहुने? रामजीको यो प्रश्नको जवाफ सायदै होला।
मंसिर १५, २०८१ शनिबार ११:३३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।