हत्केलामा जीवन राखेर सवारी चलाइरहेका कर्णाली राजमार्गका चालकहरूको पीडा- ‘फर्किएला जस्तो त कहिल्यै पनि लाग्दैन’
सुर्खेत : कर्णाली प्रदेश ००२००१ ख ०६८४ नम्बरको बसका चालक हुन् भरत कुमार डाँगी। वीरेन्द्रनगर-११ सुब्बाकुनाका ४३ वर्षीय उनी कर्णाली राजमार्गमा २०५८ सालदेखि नै सुर्खेतदेखि मुगुसम्म गाडी चलाउँछन्।
कर्णाली राजमार्गमा बस चलाउन लागेको २३ वर्षमा उनले कहिले बाढी र पहिरोका कारण त कहिले सडकका कारण भौकै बसेर पाएका कष्ट थुप्रै छन्। यो राजमार्गमा गाडी चलाउन उनको रहर नभएर बाध्यता हो।
अन्य ठाउँमा सहजै यातायातका साधनको पहुँच छ। त्यहाँ कडा प्रतिस्पर्धा हुन्छ। तर, कर्णाली राजमार्गमा कम यातायातको पहुँच छ। उनको व्यवसाय पनि त्यहिँबाट चल्छ। त्यसैले उनी२३ वर्षदेखि जोखिम मोलेरै यो राजमार्गमा बस चलाइरहेका छन्।
भरत सुर्खेतको काँक्रेबिहार यातायात व्यवसायी संघको बसमा चाललक हुन्। वीरेन्द्रनगरबाट जान दुई दिन र फर्कन दुई दिन गरेर चार दिनको समय लाग्छ। दुई दिन उनको छुट्टी हुन्छ। फेरि सात दिनमा उनको पालो आउँछ। यात्रामा निस्कँदा उनी चिन्तित हुन्छन्। फर्केर आइँदैनकी भन्ने डर भए पनि जीविका चलाउनका लागि गाडी चलाउनुपर्ने बाध्यता रहेको भरत बताउँछन्।
‘भोलि जाने पालो छ भने आज रातिबाटै मनमा अनेक कुराहरू खेल्छन्। रातभर निन्द्रा नै लाग्दैन,’ उनले भने, ‘जब बसपार्कबाट यात्रुहरू हालेर यात्रामा निस्केपछि लाग्छ फर्केर आइँदैन की! सुर्खेत फर्केपछि मात्रै ढुक्क भइन्छ।’
बाटोको अवस्था बिग्रेका कारण हिउँदाभन्दा बर्खामा झनै समस्या हुने गरेको उनी सुनाउँछन्।
‘म त्यो बाटो भर्खर बनाउने बेलादेखि हिँडेको छु। पहिला त खोलामा काठका पुल हुन्थे। बाटो साँघुरो छ। खाल्डाखुल्डी बढी छन्। गाडी मोड्ने ठाउँ पनि हुँदैन,’ डाँगी भन्छन्, ‘हिउँदमा धुलो हुन्छ। तर, वर्षमा कतिबेला कहाँबाट पहिरोले आएर लिन्छ भन्ने चिन्ता हुन्छ। कति पटक त पहिरोले बाटो थुन्दा दुई तीन रात खोलाको पानी खाएर भोकै बसेको पनि छु।’
असुरक्षित सडक संरचना, सडक नियमित रूपमा मर्मत नगरिनु, प्राकृतिक विपत्ति, ओभरलोड जस्ता समस्याले यो राजमार्गमा वर्षेनी दुर्घटना बढी हुन्छन्। त्यसैले पनि यो राजमार्ग मृत्युमार्गका रूपमा परिचित छ। विश्व बैंकको आर्थिक सहयोगमा ०६३ सालमा बनेको यो सडकले कर्णाली प्रदेशका दुर्गम पहाडी जिल्लाहरू कालिकोट, जुम्ला र मुगुलाई जोड्छ।
यात्रा गर्दा आफ्ना देवीदेवता पुकार्ने र बाटोमा हिँड्दा देउराली र मन्दिरहरुमा भगवानसँग सफल यात्राको माग गर्दै हिँड्ने गरेको अर्का बस चालक कमल थापाले बताए।
‘अधिकांश धेरै ठाउँमा एकतर्फी मात्र गाडी पास गर्न सकिन्छ। अत्याधिक उकालो, ओरालो र घुम्तीहरू छन्। कुनबेला के हुन्छ भन्नै सकिदैन,’ थापाले भने, ‘त्यसैले पनि यात्रा गर्नुपूर्व घरका देवीदेवता र यात्रा गरिसकेपछि विभिन्न मन्दिर र देउरालीमा रक्षा गरे प्रभु भन्दै हिँड्ने गरेको छु।’
थापा पनि सुर्खेत-मुगुसम्म (२९४) किलोमिटरमा बस चलाउँछन्। ठुला गाडीमा मान्छे नबस्दा कहिल्यै रित्तै आउनुपर्ने बाध्यता रहेको उनले सुनाए।
‘मान्छे साना गाडीमा बस्न रुचाउँछन्। ठूला गाडीमा त धेरै सामान हुनेहरू मात्रै बस्छन्। कहिल्यै त रित्तै आउनुपर्छ,’ उनले भने, ‘आँखै अगाडि गाडी पल्टिन्छन्। त्यो देखेको बेला त लाग्छ, कस्तो पेशा रोजेछु! गाडीभरी मान्छे ल्याएपछि साहुले पनि खुसीले भत्ता दिन्छ। के गर्ने? जीविका चलाउनका लागि गर्नैपर्यो।’
गाडी चलाउन लागेको १४ वर्षसम्म ढुक्कले कुनै दिन पनि गाडी चलाउन नपाएको उनको भनाइ छ।
विभिन्न बाध्यता र समस्याका कारण गाडीमा क्षमताभन्दा बढी यात्रुहरु हाल्नुपर्ने बाध्यता रहेको फोर्स गाडीका चालक राजीव भण्डारीले बताए। ‘हामीलाई पनि गाडीमा ठिक्क मान्छे राखेर सुरक्षित हिँड्ने मन त हुन्छ नि! तर, मान्छे कम ल्याएपछि साहुले किन कम मान्छे ल्याएको? अर्को गाडीले त्यति धेरै ल्याउँदा के हेरेर बसेको भन्छन्। बढी ल्याएपछि साहु पनि खुसी, यता चिट काट्न पाएपछि प्रहरी पनि खुसी,’ उनले भने, ‘मान्छे नल्याएपछि त साहुले भत्ता पनि दिन लोभ मान्छन्।’
वर्षेनी बढ्दै दुर्घटना
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ सालदेखि चालु आर्थिक वर्ष ०८१ कात्तिकसम्म कर्णाली प्रदेशमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी ७ सय ८७ जनाको मृत्यु भएको छ भने ६ हजार १ सय ६७ जना घाइते भएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा १० जिल्लामा १ सय ४६ वटा सवारी दुर्घटना भएका थिए। २०७६/०७७ मा २ सय ३६ दुर्घटना भए। आर्थिक वर्ष २०७७/०७८ मा २ सय ९१, आर्थिक वर्ष ०७८/०७९ मा ४ सय १५, आर्थिक वर्ष २०७९/०८० मा ५ सय ४९ र ०८०/०८१ मा १ हजार ८६ वटा दुर्घटना भएका छन्।
त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म प्रदेशभर ३ सय ६२ वटा सवारी साधन दुर्घटना भएका छन्। उक्त संख्यामा पनि दशै, तिहार लगायतका चाडपर्वको आसपासमा १ सय १० भन्दा बढी सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी २८ जनाले ज्यान गुमाएका छन् भने ३०० जनाभन्दा बढी घाइते भएको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयसँग छ।
अव्यवस्थित सडक, क्षमताभन्दा बढी भार बोक्ने, तीव्र गतिमा चलाउने, र सडक सुरक्षासम्बन्धी नियमको पालना नगर्नु सवारी दुर्घटनाका प्रमुख कारण रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बताए।
‘सडक व्यवस्थित छैन। मर्मत पनि छैन। अपरिपक्व चालकले चलाउने र ओभरलोडका कारण यहाँ वर्षेनी सवारी दुर्घटना बढेका छन्,’ प्रवक्ता डाँगीले भने, ‘लामो दूरीमा एक जना मात्रै चालक हुन्छ। गाडी पनि पुराना छन्। यातायात व्यवसायी, नागरिक र प्रहरी सबै जना सचेत भएमात्रै दुर्घटना न्यूनिकरण गर्न सकिन्छ।’
मंसिर १५, २०८१ शनिबार १०:१३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।