उकेरा टप फाइभ : आयल निगमको जग्गा विवाददेखि राष्ट्रपतिले दिएको पुरस्कार विवादसम्म
शुक्रवार नेपाल प्रिमियर लिगको तयारीको अन्तिम दिन। त्यसैले दिनभर एनपिएल चर्चामा रह्यो। शुक्रवारै क्रिकेट एसोसिएसन अफ नेपालले टीयूको मैदानमा पत्रकार सम्मेलन गरेर एनपिएलमा सहभागी आठ टिमका क्याप्टेनहरू सार्वजनिक गर्यो।
कार्यक्रममा सहभागी क्याप्टेनहरूले एनपिएल खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए। कर्णाली याक्समा अनुबन्ध भारतीय खेलाडी शिखर धवन शुक्रवार बेलुका नेपाल आए। उनी सोमबार मैदानमा उत्रिने छन्। शनिवार एनपिएलको उद्घाटन हुँदैछ।
उद्घाटन खेलको सबै टिकट विक्री भएपछि दबाब बढेपछि क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमै लेखेर टिकटका लागि फोन नगर्न आग्रह गरे। उनले लाइभ हेर्न आग्रह गरे।
एनपिएलको चर्चाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारी नै छायामा पर्यो। शुक्रवार सहकारी ठगीको आरोपमा बयानका लागि कास्कीबाट पोखरा ल्याइएका रवि लामिछानेको शुक्रवारको बयान सकियो। उनी प्रहरी हिरासतमै छन्।
भारतीय ग्याङस्टर लरेन्स विश्नोइको नाम लिएर नेपाली व्यापारीहरूलाई धम्की दिएको आरोपमा झापाबाट एक जना पक्राउ परेर। सिआइबीले पक्राउ गरेका ती व्यक्ति प्रधानमन्त्री ओलीको मानमर्दन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँको व्यक्ति भएको प्रहरीले दाबी सार्वजनिक गर्यो।
शुक्रवारै गृहले विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट चरित्रहत्या हुने गतिविधि गरे कारबाहीको चेतावनी दियो भने उता सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार ढल्ने सपना नदेख्ने विपक्षीलाई सुझाव दिए।
अब उकेरामा शुक्रवार प्रकाशित टप पाँच समाचार
सामान्य वर्षामै चुर्लुम्म डुब्ने ठाउँमा आयल निगमको भण्डारण गृह बन्दै
सामान्य पानी पर्दा नै जलमग्न हुने रुपन्देहीको रोहिणी खोला किनारको १३ बिघा जग्गामा नेपाल आयल निगमले पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढाएको छ।
जग्गा डुबानमा पर्ने भए पनि निगमले करोडौँ खर्च गरेर तटबन्ध निर्माण तथा जमिन सम्म्याउने काम गरिसकेको छ। त्यहाँ भण्डारण गृहलाई डुबानबाट जोगाउन ५ मिटर भन्दा अग्लो बाँध निर्माण गरेर जमिन पुर्ने काम भइरहेको छ।
पुरा समाचार : सामान्य वर्षामै चुर्लुम्म डुब्ने ठाउँमा आयल निगमको भण्डारण गृह बन्दै
सराफी सहकारीका अध्यक्षद्वारा शेयर सदस्यबाट लिएको सेवा शुल्क श्रीमतीको नाममा जम्मा
काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरमा रहेको सराफी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले ऋणीबाट लिएको सेवा शुल्कको रकम आफ्नी श्रीमतीको नाममा बचत गर्ने गरेको खुलेको छ।
सहकारीबाट कारोबार गर्नेले ०.२५ प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने भए पनि १ प्रतिशत लिएको पाइएको छ भने सेवा शुल्कको रूपमा लिएको रकम गैर कानुनी रूपमा व्यक्तिको खातामा जम्मा गरेको देखिएको छ। सहकारी ऐनको दफा ३ अनुसार सो पैसा सहकारीको हुन्छ, व्यक्तिको हुँदैन।
पुरा समाचार : सराफी सहकारीका अध्यक्षद्वारा शेयर सदस्यबाट लिएको सेवा शुल्क श्रीमतीको नाममा जम्मा
ड्रिम ११ सँग जोडिने क्यानको निर्णय विवादमा
अनलाइन जुवाका रुपमा भारतमा चर्चा र विवादमा घेरिएको फन्टासी प्लेटफर्म ड्रिम ११ लाई क्यानले एनपिएलमा सहकार्य गरेसँगै नेपालमा पनि यो वैध कि अवैध भन्ने विवाद शुरु भएको छ। केहीले नेपाल क्रिकेट संघले जुवालाई प्रोत्साहन गर्ने प्लेटफर्मको प्रचार गरेको भन्दै क्यानमाथि नै प्रश्न उठाएका छन्। केहीले प्रतिरक्षा गरिरहेका छन्। प्रहरी यो जुवा खेलाउने प्लेटफर्म हो कि खेल खेलाउने भन्ने भेउ नै नपाएर अलमलमा छ।
प्रारम्भमा वनएक्सबेट र वानएक्सब्याट एकै हो भन्दा अलमलमा परेको प्रहरी अहिले यो फेन्टासी एपबारे पनि उस्तैगरी अन्योलमा परेको देखियो। प्रहरी यो नेपालमा नयाँ भएको र यसबारे अहिलेसम्म उजुरी नआएकाले उजुरीपछि मात्र वैध वा अवैध हेर्न सकिने प्रतिक्रिया दिन्छन्।
पुरा समाचार : एनपीएलको ‘फन्टासी स्पोर्ट्स पार्टनर’ ड्रिम११ नेपालमा वैध कि अवैध?
राष्ट्रपतिले बाँडेको राष्ट्रिय पुरस्कारै विवादमा, जातीय विभेदको गम्भीर आरोप
राष्ट्रपतिको हातबाट वितरण गरिने राष्ट्रिय चलचित्र पुरस्कार यस पटक पनि विवाद रहित हुन सकेन। चलचित्र विकास बोर्डको आयोजनामा हुने कार्यक्रममा जुन-जुन विधामा पुरस्कार बाँडियो सबैमा 'जारी' फिल्म छुट्दा अलि गतिला फिल्म बनाउने फिल्मकर्मीहरूले नै सामाजिक सञ्जालमा असन्तुष्टि राखे।
फिल्म 'जारी' टिम मौन छ यसबारे। तर अन्य फिल्मकर्मीहरूले भने वर्षको उत्कृष्ट फिल्म, अभिनेता अनि अभिनेत्री कतै पनि जारी नपरेकोमा आश्चर्यसहित असन्तुष्टि राखिरहेका छन्।
पुरा समाचार : राष्ट्रपतिले बाँडेको राष्ट्रिय पुरस्कारै विवादमा, जातीय विभेदको गम्भीर आरोप
समीक्षा बैठकमा स्वास्थ्य सचिव पोख्रेलले भने,‘ अख्तियार र लेखामा खरिदको डिफेन्स गर्न गाह्रो भयो है साथी हो’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिदका विषयमा लेखा समिति र अख्तियार लगायतका निकायमा प्रतिरक्षा गर्नै कठिन भएको बताए।
‘स्पेशिफिकेशनहरु मिलाएर गरिदिनु होला,’सचिव पोख्रेलले भने,‘खरिदमा डिफेन्स गर्न गाह्रो भयो है साथी हो। मलाई डिफेन्स गर्न गाह्रो भयो।’
पुरा समाचार : मन्त्रालयको समीक्षा बैठकमा स्वास्थ्य सचिव पोख्रेलले भने,‘ अख्तियार र लेखामा खरिदको डिफेन्स गर्न गाह्रो भयो है साथी हो’
मंसिर १४, २०८१ शुक्रबार २२:४२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।