मन्त्रालयको समीक्षा बैठकमा स्वास्थ्य सचिव पोख्रेलले भने,‘ अख्तियार र लेखामा खरिदको डिफेन्स गर्न गाह्रो भयो है साथी हो’
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिदका विषयमा लेखा समिति र अख्तियार लगायतका निकायमा प्रतिरक्षा गर्नै कठिन भएको बताए।
‘स्पेशिफिकेशनहरु मिलाएर गरिदिनु होला,’सचिव पोख्रेलले भने,‘खरिदमा डिफेन्स गर्न गाह्रो भयो है साथी हो। मलाई डिफेन्स गर्न गाह्रो भयो।’
स्वास्थ्य सचिव डा. पोख्रेलले शुक्रवार मन्त्रालयको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रम’मा लेखा समितिमा जाँदाखेरि बोल्न सक्ने किसिमले खरिद गर्न अस्पताल प्रमुख तथा स्वास्थ्य संस्थालाई अनुरोध गरे।
‘हामी लेखा समितिमा जाँदाखेरि तपाईँहरूले गरेको खरिदलाई मैले बोल्न सक्नेगरी गरिदिनुहोला,’सचिव पोख्रेलले भने। त्यसैगरी खरिदमा हाकिमकै जबाफदेहिता हुने पनि उनले बताए।
अस्पताल तथा स्वास्थ्य संस्थामा भएको खरिदको विषयका बारेमा मन्त्रालयले सोध्दा नियमअनुसार भएको भन्दै अस्पष्ट जवाफ दिने गरेको उनले बताए।
‘हामीले लेखेर पठाउने, तपाईँहरूले उत्तर नदिने, नियम अनुसार भएको (भन्ने), के नियम त? त्यही लेख्नुहोस् न यार,’सचिव पोख्रेलले भने,‘नियम अनुसार भएको त मलाई पनि थाहा छ नि।’
मेसिन, उपकरण तथा स्वास्थ्य सामग्रीमा भइरहेको अनियमितता तथा भ्रष्टाचारका विषयमा उकेराले निरन्तर तथ्यसहितका समाचार सम्प्रेषण गर्दै आएको छ। भरतपुर अस्पतालको एमआरआई र भक्तपुर क्यान्सर अस्पतालमा भएको सिटी स्क्यान मेसिनको खरिदमा भएको मिलेमतोमा सचिव पोखरेल समेत जोडिएका थिए।
दुई दिन सम्म चलेको सो ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रम’मा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले प्रगति, चुनौती र उपलब्धि लगायतका विषयमा प्रस्तुति गरेका थिए। त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्था र यो क्षेत्रका विषयमा समस्या, सुधारका प्रयास लगायतका विषयमा समीक्षा भएको थियो। कार्यक्रममा विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिदका जटिलता र विवादका विषयमा समीक्षा भएको थियो।
मंसिर १४, २०८१ शुक्रबार २०:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।