राष्ट्रपतिले बाँडेको राष्ट्रिय पुरस्कारै विवादमा, जातीय विभेदको गम्भीर आरोप
काठमाडौँ : राष्ट्रपतिको हातबाट वितरण गरिने राष्ट्रिय चलचित्र पुरस्कार यस पटक पनि विवाद रहित हुन सकेन। चलचित्र विकास बोर्डको आयोजनामा हुने कार्यक्रममा जुन-जुन विधामा पुरस्कार बाँडियो सबैमा 'जारी' फिल्म छुट्दा अलि गतिला फिल्म बनाउने फिल्मकर्मीहरूले नै सामाजिक सञ्जालमा असन्तुष्टि राखे।
फिल्म 'जारी' टिम मौन छ यसबारे। तर अन्य फिल्मकर्मीहरूले भने वर्षको उत्कृष्ट फिल्म, अभिनेता अनि अभिनेत्री कतै पनि जारी नपरेकोमा आश्चर्यसहित असन्तुष्टि राखिरहेका छन्।
बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा २०८० का प्रदर्शनमा आएका फिल्मको आधारमा बाँडिएको आठ विधामा जारी परेन। समीक्षकको दृष्टिमा फिल्म मध्यम भए पनि सर्वाधिक ग्रस कलेक्सन गरेको अनि दयाहाङ राई र मिरुना मगरको अभिनयको राम्रै तारिफ भएको थियो।
फिल्म निर्देशक दीपेन्द्र लामादेखि लिएर अभिनेत्री अभिनेत्री स्मीता लामिछाने, फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरी लगायतले सामाजिक सञ्जालमा आफ्नो असन्तोष पोखे।
निर्देशक लामाले सामाजिक सञ्जालमा जारीको पोस्टर राख्दै लेखे ‘ उत्कृष्ट चलचित्र, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायाङ्कन र सम्पादन कुनै पनि विधामा 'जारी'लाई 'सरकारी' अवार्ड नदिइनु चाहिँ घोर अन्याय हो। नेशनल फिल्म अवार्डका निर्णायक समितिको फिल्म लिट्रेसी निकै नै दयनीय रहेछ। छर्लङ्ग भयो।’
अभिनेत्री स्मीता लामिछानेले त अवार्डमा फिल्म ‘जारी’टिमलाई अन्याय गरिएको मात्रै लेखिनन् उनले जातियता हाबी भएको गम्भीर आरोप समेत लगाइन्।
स्मीताले २०८० मा स्वस्तिमा खड्काको ‘दिमाग खराब’मा गरेको अभिनयभन्दा मिरुना मगरले ‘जारी’मा गरेको अभिनय राम्रो रहेको उल्लेख गरेकी छिन्।
‘आदिवासी जनजातिले जति राम्रो फिल्म बनाए पनि नदिने नियम छ क्या हो? ‘जारी’लाई किन यसरी हेपेको होला’ उनले लेखेकी छिन्।
कुनै पनि अवार्ड कार्यक्रममा उपस्थित नहुने भन्दै आएका अभिनेता निर्माता तथा लेखक दीपकराज गिरीले लामाको धारणामा प्रतिक्रिया लेख्दै फिल्म हेर्ने जुरीमाथि प्रश्न गरे। कुनै पनि देशको अवार्ड विवाद रहित नबनेको उल्लेख गर्दै उनले आफूलाई अवार्डको खासै रौनक नलाग्ने तर्क गरे।
दीपक लेख्छन्,‘जुरीले चलचित्रमा हुनुपर्ने गुण अर्कै चलचित्रमा पायो होला। हामी चलचित्रकर्मीले यस्ले होइन उसले पाउनु पर्थ्यो भन्ने र’?
उनले पहिला अवार्ड आफूले पाउनुपर्छ भन्ने लाग्ने गरेको र बिस्तारै बुझ्दा जोसुकैले पाओस् जस्तो लाग्न थालेको टिप्पणी गरेका छन्।
उनले अगाडि लेखेका छन्,‘मलाई पनि पहिला पहिला अवार्ड आफैले पाउनु पर्छ जस्तो लाग्थ्यो। आजकल जोसुकैले पाओस् जस्तो लाग्छ। बिस्तारै बुझेर ल्याउँदा संसारका कुनै पनि अवार्ड विवादरहित हुँदैन रहेछ। तपाइले पाएको बेलामा पनि त अर्को कुनै फिल्मकर्मीले मैले पो पाउनु पर्थ्यो भनेर करायो होला। जारी र जुरी शब्दहरू उस्तै भए पनि अवार्ड अर्कैले पायो। .दर्शकले मन पराएर अवार्ड दिइसक्यो त जारीलाई!’
कुन फिल्मले कुन विधामा पुरस्कार जिते ?
२०८० को सर्वोत्कृष्ट फिल्म बुलाकी बनेको थियो। फिल्म रिलिज भएसँगै शोज् नपाएको भन्दै यो बिचैमा हलबाट उतारिएको थियो। अधिकांश दर्शकले यो फिल्म कस्तो छ हेर्ने मौका पाएनन्। आशय करणीका मतियारलाई मेयर बनाएर राजनीतिक परिवर्तनको सन्देश दिनेगरी निर्माण भएको फिल्म दिमाग खराबबाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक भए। फिल्म राजनीतिक रुपमै बायस्ड थियो।
विपिन कार्की निकै विवादमा तानिएको फिल्म प्रसाद- २ बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए। दिमाग खराब फिल्मबाटै स्वस्तिमा खड्का सर्वोत्कृष्ट अभिनेत्री भइन्। बुलाकी फिल्मबाट राजबहादुर साने सर्वोत्कृष्ट पटकथा तथा संवादमा पुरस्कृत भए। सर्वोत्कृष्ट छायांकन बुलाकीकै शिव ढकालले पाए।
सर्वोत्कृष्ट सम्पादन महाजात्राबाट मित्र डी गुरुङ भए। सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म लिम्बु भाषाको लोजिमा भयो।टुल्कीबाट स्वस्तिमा कार्कीले प्रोत्साहन पुरस्कार पाएकी थिइन् भने सर्वोत्कृष्ट व्यवसायिक फिल्म जारी भएको थियो। विशेष चलचित्र पुरस्कार सतीदेवी, लिम्बु भाषाको सुगुप र गुरुङ भाषाको मार्कलीले पायो।
सधैँ विवादमा अवार्ड
पूर्व चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले गोपीकृष्ण अवार्ड गर्दै आएकी छन्। गत जेठ १९ गते ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ लाजिम्पाटको एक होटेलको कोठामा बाँडियो।
उक्त अवार्ड कार्यक्रममा सह-अभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ ‘गोर्खा बारिएर’बाट कविता आलेलाई दिने घोषणा गरिएको थियो। उनको फोटो र नाम स्क्रिनमा आयो।
कविता अवार्ड लिन उठेकी मात्रै थिइन्। पुन फेरि थचक्कै बसिन्। कारण थियो, पत्रमा उनको नाम लेखेको भए पनि फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’की सह-अभिनेत्री वर्षा शिवाकोटीले पुरस्कार पाइन्।
त्यो बेलामा उनी मौन रहिन्। तर हालै उनले अवार्डबाट आफूलाई चित्त दुखेको खुलाइन्। एक पडकास्ट कार्यक्रममा आले र अभिनेता पुष्कर गुरुङले अवार्ड कार्यक्रममा अपमानित रूपमा बाहिरिनुपर्दाको पिडा खुलाए।
पुष्कर भन्छन्,‘बोलाउने अनि अवार्ड अर्केलाई दिने गर्नु चाही राम्रो होइन।’
पुष्करले कविताको कुरा राख्दाराख्दै बिचैमा कविताले,‘नामै तोकेर भनौँ न,गोर्खा बारिएर’ भनिन्।
‘पुरस्कार घोषणा कार्यक्रममा मेरो नाम र फिल्म गोर्खा बारिएर सहित ठुलो स्क्रिनमा फोटो सहित भिज्युअल देखाइयो। चिठीमा पनि कविता आले नै थियो। पछि अर्को फिल्मकी अभिनेत्री वर्षा सिवाकोटीलाई बोलाएर दिइयो। पछि वसुन्धरा दिदीले पनि कविता मेरो नामको अवार्ड तिमीलाई जानुपर्ने हैन,कसरी यस्तो भयो भन्नुभयो’ उनले भनिन्।
निजी क्षेत्रबाट समय समयमा ‘डी सिने अवार्ड’,एलजी सिने अवार्ड’,‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’,‘ग्लोबल नेपाली फिल्म अवार्ड’ लगायतका नाममा पनि पुरस्कार बाँडिन्छ। तर ती पनि कहिल्यै विवाद मुक्त हुन सकेका छैनन्। नेपाल बाहिर आयोजना गरिने यस्ता कार्यक्रम कला क्षेत्रको उत्थान भन्दा मानव तस्करीको लक्ष्य बढी देखिन्छ।
गत वर्ष चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीहुँदा राष्ट्रिय अवार्डको बेइज्जतै भएको थियो। बोर्डले मुख्य विधा अर्थात् उत्कृष्ट फिल्म नै ‘गायब’ पारेर अवार्ड बाँडेको आरोप लाग्यो। यो केस अदालतसम्म पुगेको थियो।
निजी क्षेत्रले बाँड्ने अवार्डमा त स्वार्थ घुस्यो होला। तर राष्ट्रपतीकै हातबाट बाँडिने राष्ट्रिय पुरस्कार पनि यसरी पटक-पटक विवादमा आउनु पक्कै सुहाउँदो विषय हैन।
मंसिर १४, २०८१ शुक्रबार १९:३६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।