चेकजाँचको नाममा भारतीय पर्यटकले दुख पाएको लुम्बिनी चेम्बरको दाबी

चेकजाँचको नाममा भारतीय पर्यटकले दुख पाएको लुम्बिनी चेम्बरको दाबी

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए।

‘लुम्बिनीमा लगानी: अवसर र चुनौती’ विषय कार्यक्रममा बोल्दै आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।

प्रदेश सरकारलाई बलियो बनाउने गरी आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाई थियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालन गर्न सरकार प्रयासरत रहेको उनको भनाई थियो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए। लुम्बिनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको मल्होत्राको भनाई थियो।

लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टङ्क प्रसाद पोख्रेल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरोकारवाला निकायबीच पूर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए।

भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ। लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।

मंसिर १४, २०८१ शुक्रबार १८:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।