सरकार ढल्छ कि भन्ने भ्रममा पर्नु पर्दैन : सञ्चार मन्त्री गुरुङ

सरकार ढल्छ कि भन्ने भ्रममा पर्नु पर्दैन : सञ्चार मन्त्री गुरुङ

वालिङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले र नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रवार मिर्मीमा उद्घाटन गर्दै उनले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आश्वस्त बनाउने प्रयास गरे।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिन वर्तमान सरकार निर्माण भएको उनले दोहोर्याए। उनले आगामी निर्वाचनसम्म वर्तमान सरकार ढुक्कले टिक्ने दाबी गरे।    

‘यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन’, उनले भने ‘म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ।’

उनले अब डेढ वर्ष एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको र सहमति कायम रहने बताए।

लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन नहुने भन्दै उनले भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुने भएकाले तर्सनु नपर्ने दाबी समेत गरे।

देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि दुई ठुला पार्टीहरू एक ठाउँमा उभिने गरेको भन्दै उनले देशलाई समृद्धिको दिशामा लैजान दुवै दल एकै ठाउँमा उभिएको बताए।

मंसिर १४, २०८१ शुक्रबार १८:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।