भारतीय अपराधी विश्नोइको नाम लिएर धम्क्याउने पक्राउ पर्दा सिआइबीले विज्ञप्तिमै दुर्गा प्रसाईँलाई दोष लगायो
काठमाडौँ : नेपालका व्यवसायीहरूलाई भारतको जेलमा रहेका भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गर्दै प्रहरीले उनी दुर्गा प्रसाईँबाट परिचालित रहेको दाबी गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार झापा मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई पक्राउ गरेर विज्ञप्तिमै उनी दुर्गा प्रसाईँबाट परिचालित रहेको दाबी गरेको हो। प्रहरीले प्राय विज्ञप्तिमा पक्राउ परेका व्यक्ति कोबाट परिचालित हो भन्ने खुलाउने गर्दैन। तर यस घटनामा भने प्रारम्भमै प्रसाईँको नामै जोडेर विज्ञप्ति जारी गरेको छ।
प्रसाईँ प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन गरेको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन्। उनले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी गरेको दाबी गरेपछि सामाजिक सञ्जालमार्फत मानमर्दन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
शुक्रबारमात्रै उनलाई थप पाँच दिन हिरासतमा राख्न अदालतबाट म्याद आएको छ। उनी प्रहरी हिरासतमा भने छैनन्। स्वास्थ्यको कारण देखाउँदै उनी अस्पतालमा छन्।
विज्ञप्तिमा प्रारम्भिक अनुसन्धानमा व्यवसायीलाई 'दुर्गा प्रसाईँसँग माफी माग्नु नत्र ज्यान जान्छ' भनेर धम्क्याउन लगाउने काम प्रसाईँले गरेको उल्लेख गरे पनि आरोपको आधार भने खुलाइएको छैन। पक्राउ परेका आरोपी र प्रसाईँको सम्बन्धबारे पनि प्रहरीले केही उल्लेख गरेको छैन।
केही नेपाली ब्यवसायीहरुलाई भारतीय कुख्यात अपराधी लरेन्स विश्नोईको नाम लिएर फोन आएको र फोनमा धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो।
सीआईबीले शुक्रवार जारी गरेको विज्ञप्तिमा ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईँको निर्देशनमा गरेको देखिन्छ’ उल्लेख गरेको छ। पक्राउ परेका आरोपी फुयाँल यस अगाडि पनि विभिन्न कसुरमा संलग्न रहे पनि फरार रहेको विज्ञप्तिमा उल्लेख छ।
ब्युरोले उनलाई झापाको चारआलीबाट पक्राउ गरेर शुक्रवार काठमाडौँ ल्याएको थियो। विज्ञप्तिमा ‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईँसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ’ भनेर धम्क्याएको उल्लेख छ।
मंसिर १४, २०८१ शुक्रबार १६:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।