यू१९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध टस जित्यो

यू१९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध टस जित्यो

काठमाडौं : एसीसी पुरुष यू१९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध टस जितेको छ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा हुन लागेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।

प्रतियोगिताको अन्तिम तयारी स्वरूप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो।

सो सिरिज ३-२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ।

टेस्ट राष्ट्र श्रीलंकाको यू१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन।

बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। हालसम्म आठ पटक एसिया कप खेलिसकेको नेपालको यू१९ टोली एक पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।

पहिलो पटक नेपालको उमेर समूहको टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन्। नेपाली युवा टोलीले हालसम्म श्रीलंकाविरुद्ध जित हात पार्न सकेको छैन।

मंसिर १४, २०८१ शुक्रबार १०:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।