पितृको सम्झनामा पशुपतिमा बत्ती बाल्दा कुरुवाको नाममा २१ सय शुल्क उठाउँदै कोष

पितृको सम्झनामा पशुपतिमा बत्ती बाल्दा कुरुवाको नाममा २१ सय शुल्क उठाउँदै कोष

काठमाडौँ : बालाचतुर्दर्शीमा पशुपति क्षेत्रमा बत्ती बाल्नेसँग पशुपति क्षेत्र विकास कोषले शुल्क लिने भएको छ। कसैले बत्ती बालेर कुरुवा राख्न चाहे कोषको कर्मचारीले कुर्ने र दुई हजार एक सय शुल्क लाग्ने कोषले बिहीबार जानकारी दियो।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रवार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए। बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले नै  दुई हजार एक सयको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले जानकारी दिए।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरूले अनधिकृत रूपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे।

बत्तीको सङ्कल्प गरेर फर्कनेलाई मात्र दुई हजार एक सय शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए।

विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवङ्गत पितृका नाममा मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ।

वनकाली क्षेत्रमा भने पसल राख्न दिइने छ। पसल राख्न ठाउँअनुसार केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। पसल राख्ने शुल्क कोषअन्तर्गतको अमालकोट कचहरीले लिने छ।

बालाचतुर्दशीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिपाल उपलब्ध गराएको छ। बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

मंसिर १३, २०८१ बिहीबार २२:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।