उकेरा टप फाइभ : कलाकार आचार्यको हिजोको कुरादेखि सुन्तलाबाट सुर्खेतका किसानका आम्दानीसम्म
काठमाडौं : आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप चीन गएकी छन्। साँझपख उनी चीनको छन्दु पुगेकी छन्।
आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ब्रोडकास्टर तथा प्रडक्सन टिम नेपाल आएको छ। लिगका सम्पूर्ण खेलहरूको उत्पादन तथा प्रसारणका लागि टोलीहरू नेपाल आइसकेको लिगका लागि २० वटा क्यामेराहरू प्रयोग हुनेछन्।
एनपीएलकै तयारी स्वरूप बिहीबार भएको विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको मैत्रीपूर्ण प्रतियोगितामा पोखरा ३६ रनले विजयी भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पोखरासँग विराटनगर पराजित भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइँदै छ। आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौं ल्याइएपछि विमानस्थलबाहिर उनका समर्थकले विरोध प्रदर्शन गरेका छन्। रविसँग भोलि बयान लिइने तयारी छ।
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार आठ सय रूपैयाँ बिगो र सोही बराबर जरिवाना तोकेको छ। यसअघि यही मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो।
अब लागौं, उकेरा टप फाइभतर्फः
उकेराले आज बिहान पश्चिम सुर्खेतका किसानले सडक सञ्जाल जोडिएपछि बारीमै कुहिने सुन्तला बेचेर दुई लाखसम्म आम्दानी गर्ने गरेको समाचार लेख्यो। जहाँ स्थानीय बजारमा एक रूपैयाँ दानामा दिँदासमेत बिक्री नहुने सुन्तला गत वर्षबाट गाउँमै सडक पुगेपछि किलोको ४५ रूपैयाँमा बिक्री हुन थालेको छ।
पूरा समाचार: पश्चिम सुर्खेतका किसानलाई सडकले दिएको खुसी, बारीमै कुहिने सुन्तला बेचेर दुई लाखसम्म आम्दानी
उकेराले बिहानै उकेराको नियमित स्तम्भ हिजोको कुरामा कलाकार ठाकुर आचार्यको अनुभवबारे फिचर लेख्यो। जहाँ उनले १२ वर्षकै उमेरमा बिहे गरेको निर्वाचनमा मतपत्र हैन, सिक्का खसालिने गरेको बिगत सुनाएका छन्।
पूरा समाचार: कलाकार ठाकुर आचार्यको हिजोको कुरा : १२ वर्षकै उमेरमा बिहे, निर्वाचनमा मतपत्र हैन सिक्का खसालिन्थ्यो
उकेराले आज दिउँसो रास्वपा सभापति रवि लामिछानेको खस्किँदो क्रेजका कारण आसन्न स्थानीय तह उपनिर्वाचनमा धेरै स्थानमा उम्मेदवार नउठाएको विषय समेट्यो। सहकारी ठगीको अनुसन्धानका लागि रवि हिरासतमा रहेका कारण सडकमा प्रदर्शनमा छ। त्यसैले पनि चुनाव हारिने डरले रास्वपा जनतामाझ नगएको विषय छ।
पूरा समाचार: संसद्को चौथो ठूलो पार्टी ‘रविको रास्वपा’, रवि हिरासत पुगेपछि जनतासँग पनि डराउनुपर्ने अवस्थामा!
उकेराले आजै दिउँसो एनपिएल खेलेबापत स्वदेशी खेलाडीले एक करोड १२ लाख कर तिर्ने गरेको समाचार लेख्यो। त्यसमा मार्की खेलाडीको हातमा १५ प्रतिशत कर कट्टा गरेर रकम पाउने तथ्य समेटिएको छ।
पूरा समाचार: एनपिएल खेलेबापत स्वदेशी खेलाडीले नै तिर्छन् एक करोड १२ लाख कर, मार्की खेलाडीको हातमा कति पर्छ?
उकेराले साँझपख मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत गरेको समाचार लेख्यो। प्रधानमन्त्री ओली ८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन जाने र एयरपोर्टमा बिदाइ गर्न १४ जना मात्रै जाने विषय समेट्यो।
पूरा समाचार: ८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन जाँदैछन् प्रधानमन्त्री ओली, एयरपोर्टमा बिदाइ गर्न १४ जना मात्रै
मंसिर १३, २०८१ बिहीबार २२:०७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।