सामाजिक सञ्जाल नियन्त्रण गर्न अस्ट्रेलियामा 'विश्वकै कडा' कानुन पारित भो
एजेन्सी : अस्ट्रेलियाको संसदले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन पारित गरेको छ। उसले प्राविधिक कम्पनीहरूलाई अझै कडा सुरक्षा कायम गर्न चेतावनी समेत दिएको छ। तर प्रतिबन्ध लागू हुने मिति तोकिएको छैन।
विधेयकको प्रक्रिया एक हप्तामा नै सुरु गरेर बहससँगै पारित गरियो। नयाँ कानुनअनुसार, प्राविधिक कम्पनीहरूले किशोर उमेरका प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोक्न "उचित कदम" चाल्नुपर्नेछ, अन्यथा झन्डै ५० मिलियन अस्ट्रेलियन डलर ($३२ मिलियन) जरिबाना तिर्नुपर्नेछ।
यो विश्वकै सबैभन्दा कडा कानुन हो जुन अन्य देशहरूले सीमित गरेका थिए तर कम्पनीहरूलाई जबाफदेही बनाएका थिएनन्। यो प्रतिबन्ध स्नापच्याट, टिकटक, फेसबुक, इन्स्टाग्राम, रेड्डिट र एक्स जस्ता सामाजिक सञ्जालहरूमा लागू हुनेछ।
प्रधानमन्त्री एन्थोनी अल्बानेसले संसद्मा युवाबारे गम्भीर हरेक सरकार युवाहरूमा सामाजिक सञ्जालको प्रभाव बारेमा चिन्तित रहेको र आफूले भेटेका नेताहरूले अस्ट्रेलियाको पहलको प्रशंसा गरेको दाबी गरे।
'हामीलाई थाहा छ कि सामाजिक सञ्जाल डरलाग्दा व्यक्तिहरूका लागि हतियार, साथीहरूबिच दबाब, चिन्ताको कारण, ठगीको मञ्च र सबैभन्दा खराब कुरा अनलाइन सिकारीहरूका लागि उपकरण हुन सक्छ,' उनले सोमबार संसद्मा भने।
१६ वर्षको उमेर सीमाको प्रावधानको बचाउ गर्दै उनले त्यस उमेरका बालबालिकाहरू 'बनावटी र खतरनाक कुराहरू' पहिचान गर्न बढी सक्षम हुने तर्क गरे।
अस्ट्रेलियाको मुख्य विपक्षी दल लिबरल पार्टीका अधिकांश सदस्यहरूले बिलको समर्थन गरे। लिबरल पार्टीकी सांसद मारिया कोभाचिकले यसलाई देशको 'महत्त्वपूर्ण क्षण' बताइन्।
'हामीले रेखा खिँचेका छौँ। ठुला प्राविधिक कम्पनीहरूको विशाल शक्तिलाई अब अस्ट्रेलियामा अनियन्त्रित रहन दिइने छैन,'मतदान अघि उनले भनिन्।
तर यसबारे स्वतन्त्र र साना दल विरोधमा उत्रिए। ग्रीन्स पार्टीकी सांसद साराह हान्सन-युङले प्रमुख दलहरूले अभिभावकहरूलाई छक्क पार्ने प्रयास गरेको आरोप लगाइन्।
'यो हाम्रो आँखा अघि भएको एक विनाश हो' उनले भनिन् 'प्रधानमन्त्रीले सामाजिक सञ्जालको चिन्ता गर्छन् र विपक्षी नेताले भन्छन् 'यसलाई प्रतिबन्ध लगाऔँ।''
उनले यो सबैभन्दा कठोर देखिने होडमा सबैभन्दा तल झर्ने प्रयास रहेको र यसले युवाहरूलाई थप एक्लोपनमा धकेल्ने तथा प्लेटफर्महरूलाई निरन्तर अनियन्त्रित रहने अवसर दिने तर्क गरिन्।
मंसिर १३, २०८१ बिहीबार २१:५८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।