बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
काठमाडौं : लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा बसेको बोर्डको ६०औं बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब रूपैयाँ, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो।
यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मक रुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरण सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे।
मंसिर १३, २०८१ बिहीबार २१:१९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।