८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन जाँदैछन् प्रधानमन्त्री ओली, एयरपोर्टमा बिदाइ गर्न १४ जना मात्रै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ८७ सदस्यीय चीन भ्रमण टोलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने छन्।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने तयारी छ।
प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन्।
भिभिआइपीको बिदाइमा अब एयरपाेर्टमा लावालस्कर नहुने
सरकारले भिभिआइपीपीको वैदेशिक भ्रमणमा जाँदा बढीमा १४ जना मात्रै बिदाइमा जान पाउने व्यवस्था गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानमन्त्रीसहित १४ जना मात्रै अन्तराष्ट्रिय विमानस्थलमा बिदाइमा जान पाउने निर्णय गरेको हो।
१४ जनामात्रै जान पाउने गरी संशोधन गरिएको कार्यविधिमा कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र पर्यटनमन्त्रीबाहेक अरू मन्त्री पनि बिदाईमा सहभागी हुन नपाउने भएका छन्।
प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट्र मन्त्रालयले तोकेको व्यक्ति मात्रै जान पाउने भएको हो।
मंसिर १३, २०८१ बिहीबार २०:५७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।