एनपिएलको आकार एक अर्ब नजिक, लिगका लागि तयार भयो टीयू क्रिकेट मैदान
काठमाडौँ : निकै नजिकै आइसक्यो नेपाल प्रिमियर लिग (एनपिएल)। मङ्सिर १५ गते यसको उद्घाटन हुनेछ अनि पुस ६ सम्म आठ फ्रेन्चाइज टिमका खेलाडीहरू उपाधिका लागि एक अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिने छन्।
पहिलो सिजन एनपिएललाई भव्य बनाउन क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आफ्नो भए भरको क्षमताको उपयोग गरिरहेको छ। जसको परिणाम एनपिएलको माहौल भव्य बनेको छ। उद्घाटनको दिनका सबै टिकट दुई दिनमै सोल्ड आउट भइसकेको छ।
खेल हुने स्थान काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदान झकिझकाउ बनाइएको छ। पिचदेखि भिभिआइपी, भिआइपी, ओनर्स अनि दर्शक बस्ने स्थानको रुपरंग बदलिएको छ।
यस पटक एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुँदैछन्। अन्तराष्ट्रियस्तरमा प्रख्यात प्रस्तोताहरू खेल प्रसारणमा जोडिइसकेका छन्। आठै टिमले लिगको नियम अनुसार आबद्ध गरेका अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउनेक्रम जारी छ। खेलाडीहरू अभ्यास खेलमा व्यस्त छन्।
टिमले गर्ने खर्च अनि क्यानले गर्ने खर्च जोड्ने हो भने लिग करिब एक अर्ब हाराहारीको अंकमा पुगिसकेको छ। यसले खेलकुद प्रेमीको मनलाई मात्रै हैन, सुस्ताएको आर्थिक कारोबारलाई समेत चलायमान बनाएको छ।
सिद्धार्थ बैङ्क, एनसेल खेलको महत्त्वपूर्ण भाग बनेका छन्। यसले कर्पोरेट क्षेत्रलाई खेलमा लगानी गर्न प्रोत्साहित गराएको छ। टिममा आबद्ध हुने सोसल आइकन अनि सेलिब्रिटीहरुको सङ्ख्या बढिरहेको छ। लगभग अहिलेको खेलको माहौल एनपिएलमय बनेको छ।
मंसिर १३, २०८१ बिहीबार २०:२७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।