प्रचण्डको पटक-पटक एउटै गुनासो ‘मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो’

प्रचण्डको पटक-पटक एउटै गुनासो ‘मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन्। 

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाई गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिए। 

उनले भने, ‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक रुपमा हटाइएको छ। तर, मलाई जनताप्रति विश्वास छ। त्यो असंवैधानिक र अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ। त्यसको लागि जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जाने छौं।’ 

उनले यसअघि पनि पटक-पटक आफूलाई असंवैधानिक रूपमा हटाइएको बताउँदै आएका छन्। आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार विरोधी गतिविधि गरिरहेको देखेर कांग्रेस-एमाले मिलेको उनको दाबी छ। अब आफूहरू हरेक पालिका-पालिकाबाट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्न पर्ने हुनसक्ने उनले सुनाए। 

‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरु मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदि सरकारले त्यसको सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं। त्यहाँबाट पनि लडाइँ छेडिनेछ,’ उनले भने। 

उनले राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनका सुरुवात गर्न आवश्यक रहेको बताए । 

फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण बनाउन आफू रातदिन देशभरी खटिरहेको पनि उनको भनाई छ।  

मंसिर १३, २०८१ बिहीबार २०:१५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।