अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचारमा विकल पौडेल र सफल श्रेष्ठलाई ८/८ वर्ष कैद सजाय
काठमाडौं : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार आठ सय रूपैयाँ बिगो र सोही बराबर जरिवाना तोकेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई सजाय तोकिएको हो।
अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ मा दोषी ठहर गरेको थियो। अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो। उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ मा १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा ३८ करोड ६७ लाख १७ हजार छ सय ४० रूपैयाँ बिगो असुल गर्न माग दाबी गरेको थियो।
मंसिर १३, २०८१ बिहीबार १९:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।