‘पूर्ण बहादुरको साराङ्गी’ हेरेर जब दर्शक रोए अनि हाँसिन् अञ्जना, त्यसपछि त ‘घुमीघुमी’कै सफलता

‘पूर्ण बहादुरको साराङ्गी’ हेरेर जब दर्शक रोए अनि हाँसिन् अञ्जना, त्यसपछि त ‘घुमीघुमी’कै सफलता

काठमाडौं : कलाकार भएपछि दर्शकको अगाडि उभिदा सबैले चिनून् भन्ने चाहना कसलाई पो हुन्न होला र! यस्तै चाहना थियो केही साताअघिसम्म अभिनेत्री अञ्जना बराइलीलाई। जब फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’ प्रदर्शनमा आयो, दुई दिनसम्म त दर्शकले वास्तै गरेनन्। 

दशैंमा हलमा लागेको फिल्म ‘१२ गाउँ’ले नै शो कब्जा गरिह्यो। हलवाला फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’मा दर्शक नआउने छाँटकाटपछि उतार्ने तयारीमा थिए। 

जब फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालमा रोएको भिडियो क्लिपहरू छरपस्ट भए, तब अञ्जनाका चर्चाको दिनगन्ती सुरू भए। दर्शक रुँदा उनको मुहारमा मुस्कान छाउन थाल्यो। दर्शकले विजय बरालका अलावा अञ्जनालाई पनि फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’मार्फत राम्ररी चिन्ने मौका पाए।

यसअघि अभिनय गरेका फिल्म ‘महापुरुष’,‘चित्रा’ र ‘पूजार सार्की’ले उनको परिचय मात्रै गरायो भन्दा फरक नपर्ला! किनभने यो फिल्ममा पुरानै कलाकारहरूको हालीमुहाली थियो। उनको अभिनयले दर्शकलाई नोटिस गराउनै सकेको थिएन। जति उनले दुई वर्षअघि अभिनय गरेको म्युजिक भिडियो ‘घुमी घुमी’मा थियो।
 
सुजन चापागाईको यो गीतले चर्चा बटुलेसँगै अञ्जनाको अभिनयलाई दर्शकले हेरेका थिए। भिडियोमा उनको जोडीका रुपमा जल्दाबल्दा अभिनेता विपिन कार्की रहेका थिए। यही गीतबाट फिल्मकर्मीको नजरमा परेकी अञ्जना यतिबेला ‘पूर्ण बहादुरको साराङ्गी’बाट सफलताको स्वाद चाख्न सफल भएकी छन्।

तिहारको लक्ष्मीपूजाको दिनबाट हलमा प्रदर्शनमा आएको यो फिल्मबाट उनले प्रशंसा पाइरहेकी छन्। यस फिल्मका मुख्य कलाकार विजय बराल र उनको जोडीलाई दर्शकले मन पराएका छन्। अहिले म्युजिक भिडियोमा विपिन कार्कीको जोडी बन्दा जति फापेको थियो विजय बरालको जोडीका रुपमा त्यतिकै दमबार बन्यो अञ्जनालाई। 

अहिले दर्शकको नजरमा यही जोडीको चर्चा छ। फिल्मको चर्चा र सफलताले होला, विजय बरालसँगै अञ्जना पनि हल हलमा दर्शकको प्रतिक्रिया लिन पुगेकी रहेकी छन्। सामाजिक सञ्जालमा पनि उत्तिकै मात्रामा फिल्मको अपडेट दिन सक्रिय छिन्। 

जे होस् सन्तोष अधिकारीको ‘चित्रा’, प्रदीप खड्काको टिमसँग ‘पूजार सार्की’ले दिन नसकेको सफलता ‘पूर्ण बहादुरको साराङ्गी’दिएपछि दंग छिन् अञ्जना। यतिको दर्शकको माया पाएपछि उनलाई फिल्ममा अफरै-अफर आउन थालेको छ। फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’को चर्चा सेलाउन नपाउँदै उनी नयाँ फिल्म ‘डोरी’को छायांकनमा निस्किएकी छन्। 

बिहिबार फिल्म ‘डोरी’को ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित फिल्मको शुभमुहूर्त गर्दै छायांकन थालिएको छ। 

यस फिल्ममा उनको जोडीका रुपमा प्रविण खतिवडा रहेका छन्। एकपछि अर्को फिल्ममा सफलता हात पारेकी अञ्जनालाई ‘डोरी’प्रति पनि ठुलो विश्वास छ। 

मंसिर १३, २०८१ बिहीबार १९:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।