महानगरले १८ लाख खर्चिएर सानो गौचरन स्टेडियमलाई आधुनिक बनाउँदै

महानगरले १८ लाख खर्चिएर सानो गौचरन स्टेडियमलाई आधुनिक बनाउँदै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख खर्चिएर सानो गौचरन स्टेडियम पुन निर्माण गर्ने भएको छ। बिहीबार सुरु भएको पुनर्निर्माणको शिलान्यास महानगरकी उप प्रमुख सुनिता डङ्गोलले गरिन्।

१८ रोपनीमा फैलिएको स्टेडियम मर्मतको अभावमा लथालिङ्ग छ। पुनर्निर्माणको काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने महानगरले जानकारी दिएको छ।

स्टेडियमको ड्रइङ, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो। यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो। 

स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल हुनेछ।

महानगरका अनुसार यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ। स्टेडियमको भुईँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्। पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन्। 

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुने महानगरले जानकारी दिएको छ।

मंसिर १३, २०८१ बिहीबार १८:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।