संसद्को चौथो ठूलो पार्टी ‘रविको रास्वपा’, रवि हिरासत पुगेपछि जनतासँग पनि डराउनुपर्ने अवस्थामा!
काठमाडौं : संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एउटा निर्णय गर्यो, आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तटस्थ बस्ने। स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएन। रास्वपा समर्थकहरूका लागि यही कुरा आश्चर्यजनक रह्यो। किनभने २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाले तेस्रो मत प्राप्त गरेको थियो।
२०७९ को वैशाखमा चुनावहुँदा रास्वपा गठन भएकै थिएन। २०८४ अघि नै हुन लागेको उपचुनावमा भाग लिन पाइने भइयो भनेर कीर्तिपुरका नेता-कार्यकर्ता उत्साहित पनि थिए। तर, त्यो उत्साह उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि कात्तिक २२ देखि २५ भित्र दाबी पेश गर्न गरेको आह्वानमा देखिएन।
रास्वपाको त्यस आह्वानमा एकजनाले मात्रा दाबी पेश गरे। उनी थिए रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्की।
मनोनयन दर्ता गर्ने दिन जयरामले पनि उम्मेदवार नदिएर रास्वपाले आफ्नो उम्मेदवार नै नउठाउने निर्णय गर्यो। त्यसको केही दिनपछि रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्यो। तर, आज भने कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको रास्वपाका उपनिर्वाचन कमान्डर गणेश पराजुलीले बताए।
उनले भने, ‘कीर्तिपुरसहित हामीले कुनै पनि ठाउँमा अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने अवस्था भएन। अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने सिफारिस स्थानीय कमिटीहरूबाट प्राप्त भएको छ। सायद त्यही नै हुन्छ होला ।’
त्यसअघि स्वतन्त्रबाट कीर्तिपुरमा ११ जनाले उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार दिनेश श्रेष्ठले राजमानलाई सघाउने भएका छन्। त्यसमा पनि कीर्तिपुरमा राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी र डा नवरथकुमार बानियाँ मध्येबाट बलियो उम्मेदवारलाई समर्थन गर्ने रास्वपाका कीर्तिपुर सभापति जयराम कार्कीले भनेका थिए।
त्यसो त एकल उम्मेदवारी सिफारिस हुँदासमेत चुनाव लड्न नपाएकोमा कार्कीको पार्टीप्रति चित्त दुखेको छ। पार्टी चुनावै नलड्ने निष्कर्षमा कसरी पुग्यो भनेर ठोस जबाफ पाउन नसकेको उनको दाबी छ।
‘खै के कति कारणले यो निर्णय गरिएको हो, माथिकै नेतालाई सोध्नुभयो भने जबाफ पाउनुहोला। पार्टीको निर्णय मान्नुबाहेक हामीसँग विकल्प छैन,’ उनले भने।
रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ। दुई जिल्ला समन्वय समिति प्रमुख, ८ नगरपालिका/गाउँपालिका प्रमुख–उपप्रमुख र ३४ वडाध्यक्षसहित ४४ पदका लागि हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने २६ पदमा मात्रै उम्मेदवारी दिएको छ। यो उपनिर्वाचनलाई आफूहरूले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने कमान्डर पराजुली बताउँछन्।
रविको क्रेज घटेपछि चुनावमा भाग लिन डराएको रास्वपा
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपा सभापति रवि लामिछानेकै क्रेजले उदाएको पार्टी हो। झाले रविको क्रेज नभएको भए रास्वपाले गत निर्वाचनमा संसदमा चौथो ठूलो दल भएर आउन नसक्ने स्वीकार गरेका छन्। झासहित रास्वपाका धेरै नेताहरूले यही कुरालाई स्वीकार गर्दै आएकाले पनि रास्वपालाई 'रविको पार्टी' भन्ने गरिएको छ।
तर, उनै सभापति रवि अहिले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको छानबिनका लागि प्रहरी हिरासतमा छन्। एकबेला जनताले 'हिरो' कहल्याएका रविलाई अहिले 'सहकारी ठग'का रूपमासमेत कहल्याउन थालिएको छ। पार्टीको स्थापनाताकाको रविको क्रेज अहिले छैन। नागरिकता प्रकरण, दोहोरो पासपोर्टहुँदै घटेको उनको क्रेज अहिले सहकारी ठगीसम्म आइपुग्दा ह्वात्तै घटेको छ।
आफ्ना सभापतिलाई राज्यले प्रतिशोध साँधेर फसेको दाबीसहित रास्वपा विरोध प्रदर्शन गरिरहेकै छ। अहिलेसम्म पहिलो र दोस्रो चरणको आन्दोलन गरेको रास्वपाले उपनिर्वाचन नजिकिएपछि मात्र विरोध प्रदर्शनलाई थाँती राखेको हो। त्यही प्रदर्शनका कारण पनि रास्वपाले उपनिर्वाचनमा उम्मेदवार नै नपाउने परिस्थिति बन्यो।
सत्तारूढ ठूला दुई दल नेपाली कांग्रेस र एमालेले प्रायः सबै ठाउँमा उम्मेदवारी दर्ता गरेका छन्। केही ठाउँमा कांग्रेस र एमालेबीचमा अघोषित रूपमा गठबन्धन पनि गरिएको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि प्रतिपक्षी दलहरूसँग केही ठाउँमा गठबन्धन गरेको छ। तर, यही परिस्थितिमा रास्वपालाई भने उम्मेदवार पाउनै मुस्किल पर्यो।
यता, रास्वपाले भने पार्टीको संगठन बलियो नहुँदा धेरै स्थानमा उम्मेदवारी नदिएको जनाएको छ। इमानदार छवि भएको, पृष्ठभूमिबारे चेक हुने, सामाजिक काममा हिँडेको भन्ने कुराले गर्दा उम्मेदवार हुन्छु भन्ने व्यक्तिलाई रास्वपाले उम्मेदवार बनाउने तर, त्यस्ता व्यक्ति पार्टीमा नभएकोले रास्वपाले उम्मेदवार नबनाइएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
सभापति पक्राउ र आन्दोलनमा केन्द्रित हुँदा उपनिर्वाचनमा पाँच/दश प्रतिशत प्रभाव परेको उनको भनाई छ। सिंगो रास्वपा पार्टी सभापति पक्राउपछि उनकै पछाडि लागि परेको हुँदा पनि रास्वपाले उपनिर्वाचनमा समय दिन नसकेको र चुनाव हारिने डरले पछि रास्वपा जनतामाझ परीक्षण हुन डराइरहेको देखिन्छ।
मंसिर १३, २०८१ बिहीबार १७:३२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।