एनपिएल खेलेबापत स्वदेशी खेलाडीले नै तिर्छन् एक करोड १२ लाख कर, मार्की खेलाडीको हातमा कति पर्छ?
काठमाडौँ : आगामी शनिवारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघले (क्यान)ले प्रतियोगिताको मुख्य तयारीलाई प्राथमिकता दिएर काम गरिरहँदा फ्रेन्चाइजी टोलीहरू धमाधम विदेशी खेलाडीहरूलाई स्वागत गर्न व्यस्त छन्।
अधिकांश विदेशी खेलाडीहरू बिहीबारसम्म काठमाडौँ आइसक्ने तालिका छ। विदेशी खेलाडीहरू आउने क्रम जारी रहँदा टोलीमा रहेका स्वदेशी खेलाडीहरूले आफ्नो तयारी गरिरहेका छन्।
क्यानले उनीहरूलाई तयारीका लागि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा समय छुट्टाइदिएको छ। सोही समयअनुसार टोलीहरूले आफ्नो तयारीलाई तीव्रता दिएका छन्। तयारी स्वरूप बिहीबार मुलपानी क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र विराटनगर टिमबीच फ्रेन्डलीम्याच भएको थियो।
प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा खेल्ने आठ मुख्य खेलाडीलाई मार्की प्लेयरको रूपमा चयन गरेर आठ टोली समावेश गरिएको छ।
आठ मार्की खेलाडीले २० लाख रुपैयाँ पाउँदा टोलीमा समावेश हुने अन्य १० जना खेलाडी भने अक्सनमार्फत लिलामीमा बिक्री भएका हुन्। यद्यपि अक्सनका लागि पनि क्याटेगोरी अनुसार सीमा तोकियो।
क्याटेगोरी ‘ए’का खेलाडीले अधिकतम १५ लाख रुपैयाँ पाउँदा क्याटेगोरी ‘बी’का खेलाडीले अधिकतम १० लाख र क्याटेगोरी ‘सी’का खेलाडीले अधिकतम पाँच लाख रुपैयाँसम्म पाए।
यसका अलावा टोलीले ट्यालेन्ट हन्टमार्फत एक जना र चारदेखि छ जना विदेशी खेलाडी समेतलाई टोलीमा अनुबन्ध गर्यो। यसरी अनुबन्ध गरेका खेलाडीको मूल्य टोलीहरूले सार्वजनिक गरेका छैनन्।
क्यानको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि खेलाडीहरूले तोकेकै मूल्य पाउँछन् त? हामी हामी तपाईँहरूलाई यसबारे जानकारी दिँदैछौँ।
संलग्न स्वदेशी खेलाडीको हकमा उनीहरूका लागि कबोलेको रकममा १५ प्रतिशत कर लाग्नेछ। एक फ्रेन्चाइजी टोलीका अनुसार यस्तो कर काटेर नै फ्रेन्चाइजी टोलीले खेलाडीलाई रकम दिन्छ।
उदाहरणका लागि कुनै मार्की खेलाडीले २० लाख रुपैयाँ पाउँदैछन् भने त्यस्तो रकमको १५ प्रतिशत अर्थात् तीन लाख रुपैयाँ फ्रेन्चाइजी टोलीले काटेर १७ लाख रुपैयाँमा मात्र खेलाडीले पाउँछन्। त्यो काटिएको तीन प्रतिशत नेपाल सरकारको कर खातामा जानेछ।
एनपिएलका लागि ८० जना नेपाली खेलाडी अक्सनबाट छानिएका छन्। ८० खेलाडी किन्न लागि फ्रेन्चाइजी टोलीले पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरे। यसका अलावा मार्की खेलाडीका लागि टोलीले एक करोड ६० लाख गरे।
यसरी हेर्दा मार्की खेलाडी र अक्सनमार्फत खेलाडी खरिद गर्न आट फ्रेन्चाइजी टोलीले सात करोड ५२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्। यसबाट १५ प्रतिशत करबापत एक करोड १२ लाख ८७ हजार पाँच सय रुपैयाँ सिधै सरकारको खाताको जानेछ।
तर, विदेशी खेलाडीको हकमा भने कर अलि फरक छ। नेपालमा कुनै पनि टिमले विदेशी खेलाडी भित्र्याउँदा दुई वटा माध्यम प्रयोग गर्छन्– एउटा कम्पनीमार्फत र अर्को व्यक्तिगत।
यदि कुनै विदेशी खेलाडी व्यक्तिगत रूपमा डिल गरेर आएको भए, त्यस्तो अवस्थामा खेलाडीले तोकिएको रकमको २५ प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ। फ्रेन्चाइजी टोलीले त्यस्तो सुरुमै कटाएर मात्र विदेशी खेलाडीलाई बाँकी रकम दिन्छ।
यसका अलावा कम्पनीमार्फत डिल भएर आएका खेलाडीको हकमा भने पाँच प्रतिशत आयकर र १३ प्रतिशत भ्याट नेपाल सरकारलाई तिर्नुपर्ने नियम छ। करको रकम कट्टी गरेपछिको रकम मात्रै फ्रेन्चाइजी टोलीले कम्पनीलाई पठाउँछ।
व्यक्तिगत रूपमा वा कम्पनीमार्फत खेलाडीबारे डिल भएपछि नेपाल क्रिकेट संघलाई जानकारी गराई श्रम स्वीकृति लिनुपर्ने हुन्छ। श्रम स्वीकृतिपछि खेलाडी वा कम्पनीलाई निश्चित रकम तिरेपछि मात्र खेलाडी अनुबन्धबारे औपचारिक रूपमा जानकारी गराउने गरिन्छ।
श्रम स्वीकृति लगायतका कागजी कामका लागि राष्ट्रिय खेलकुद परिषद्ले एनपिएलका लागि भन्दै छुट्टै ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
मंसिर १३, २०८१ बिहीबार १६:२४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।