१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियम पुनर्निर्माण थालियो
काठमाडौं : काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ। उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनर्निर्माणको काम थालनी गरेको हो।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रूपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ।
स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन्।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ। वरिपरि सिमा पर्खाल हुनेछ। यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ।
स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्। पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन्।
स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन्।
निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ मा सार्वजनिक सूचना जारी भएको थियो। यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेको थियो। छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ। यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ। यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ।
मंसिर १३, २०८१ बिहीबार १५:५४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।