एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष भेटियो

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष भेटियो

एजेन्सी : पेरूको मरूभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन्।

राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरूको ओकुकाजे मरूभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो।

'हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौं, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरूदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले पत्रकार सम्मेलनमा भने। 

अवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमुनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ।

ग्यामराले भने, 'तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो। यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो।'

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।

पेरूको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन्। 

मंसिर १३, २०८१ बिहीबार १५:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।