चौथो ‘प्लास्ट एक्स्पो’ आजदेखि भृकुटीमण्डपमा शुरू, दुई दिनसम्म चल्ने

चौथो ‘प्लास्ट एक्स्पो’ आजदेखि भृकुटीमण्डपमा शुरू, दुई दिनसम्म चल्ने

काठमाडौं : चौथो संस्करणको प्लास्ट नेपाल एक्स्पो भृकुटीमण्डपमा आजदेखि शुरू भएको छ। प्रदर्शनीमा नेपाल र भारतमा प्लास्टिकबाट भनेका दैनिक उपभोग्य सामानहरू प्रदर्शनीमा राखिएको छ।

दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले निजी क्षेत्रसँग समन्वय गरेर कानूनी अड्चन संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘एउटा कानूनले गरेर उद्योगी व्यापारी विभिन्न मन्त्रालय कुदिरहनुपरेको छ। यस्ता कानूनलाई सरकारले संशोधन गर्छ। अब उद्योगीहरू कुदिरहनुपर्दैन।’

कार्यक्रममा प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा आठ सय उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए।

‘यस संस्थामा शुरूमा ६५ उद्योगीले सञ्चालन गरेको उद्योगमा अहिले एक लाखभन्दा बढीले रोजगारी पाएका छन्। ९० प्रतिशत प्लास्टिक उत्पादन नेपालमै हुन्छ। प्लास्टिकको पुन प्रयोग गर्न सके वातावरणलाई सन्तुलनमा राख्न सकिन्छ’, उनले भने।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अवैध रूपमा भारतबाट गुणस्तरहीन प्लास्टिक आएकोले नेपाली बजारमा असर परेको बता। यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

‘भारतबाट अवैध रूपमा प्लास्टिकजन्य वस्तु आउँदा नेपालमै उत्पादन भएको वस्तुले मूल्य पाउँदैनन्,’ उनले भने, ‘सरकारले उद्योगीलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थमा भन्सार शुल्क घटाएमा प्लास्टिकजन्य वस्तु उत्पादन बढेर निर्यात गर्न सकिन्छ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वााणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतका उद्योगी व्यापारीको उपस्थिति थियो।

मंसिर १३, २०८१ बिहीबार १४:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।