कलाकार ठाकुर आचार्यको हिजोको कुरा : १२ वर्षकै उमेरमा बिहे, निर्वाचनमा मतपत्र हैन सिक्का खसालिन्थ्यो

कलाकार ठाकुर आचार्यको हिजोको कुरा : १२ वर्षकै उमेरमा बिहे, निर्वाचनमा मतपत्र हैन सिक्का खसालिन्थ्यो

रसुवामा जन्मिएका ठाकुर आचार्य उमेरले ७० लागे। उमेरले सात दशक काटे पनि उनले अझै आफ्नो प्यासन भने छाडेका छैनन्।

विद्यालय पढ्दा साथीहरूलाई बालन भजन गाएर सुनाउने उनी अहिले आफ्नो त्यही गायक बन्ने प्यासन पछ्याइरहेका छन्। युवा बेलामा पैसाको अभावले आफ्नो चाहना पूरा गर्न नपाएका उनी अहिले कलाकारितामार्फत पूरा गरिरहेका छन्।

युवावस्थामा पैसाको अभाव खेपेका आचार्यलाई अभिनयमा खुब रुचि थियो। कलाकारितामा कहाँ गएर के गर्ने भन्नेबारेमा उनी त्यति जानकार थिएनन्। यद्यपि भजन कृतन र गाउँतिर हुने गायन प्रतियोगितामा भने सहभागी हुन्थे।

त्यो समयदेखिको अभिनयको चाहना अहिले उनले सिरियलमार्फत पोखिरहेका छन्। केहि वर्षअघि एनटिभी प्लसबाट आउने ‘कुरा मात्र भो’मा सिरियलमा अभिनय गरेका छन्। त्यसबाहेक अन्य सिरियलमा पनि अभिनय गर्छन् उनी। पातलो शरीर भएकाले केही सिरियलमा उनलाई नाग बाजेको उपनाम दिइएको रहेछ। उनी अहिले त्यही नामले परिचित छन्।

बाल्यकालमा ठाकुरको सपना शिक्षक बन्ने रहेछ। आर्थिक समस्या र सानै उमेरमा विवाह बन्धनमा बाधिँदा उनले आठ कक्षाभन्दा बढी पढ्नै सकेनन्। विवाहपछिको केही समय खेतीपातीमै बित्यो।

अलिक बुझ्ने भएपछि कामको खोजीमा भारततिर हानिए। जीवनको उत्तरार्द्धमा कलाकारितामा रमाइरहेका उनै आचार्यले आफ्ना अनुभव उकेराको नियमित श्रृंखला ‘हिजोका कुरा’मा यसरी सुनाएः

१२ वर्षको उमेरमा नै बिहे 
२०१२ सालमा रसुवामा जन्मिएको हुँ म। घरको जेठो सन्तान। बुवाआमाले नातिनातिनाको अनुहार हेर्न रहर भएपछि १२ वर्षको उमेरमै मेरो बिहे गरिदिनुभएको थियो।

त्यतिबेला जात, धर्म, गोत्र सबै हेरेर विवाह गर्ने चलन थियो। राशी पनि मिल्न हुँदैनथ्यो। त्यही अनुसार बुवाआमाले मेरो बिहे नेपालकी छोरीसँग गरिदिनुभयो।

बिहे के हो र किन गर्ने भन्ने मलाई केही पनि थाहा थिएन। नयाँ कपडा लगाउन पाइने र मीठो खान पाइने भएकाले त्यसमै मख्ख थिएँ म। अरु बेला अहिलेको जस्तो जहितहीँ कपडा देख्न पाइँदैनथ्यो। एउटै कपडाले वर्षौं काट्नुपर्थ्यो।

भविष्यबारेको केही चिन्ता थिएन। १५/१६ वर्षपछि मात्रै हो मैले विवाहबारे थाहा पाएको। अनि मात्र भविष्यबारे चिन्ता लाग्न थालेको।

दुहली मैतालु फर्काउने ५/७ दिन त्यस्तैमा थियो क्यार। बिहे गरेको पनि त जुग भइसक्यो। दुई छोरा र एक छोरी छन्। नातीनातिनाका हजुरबा भइसकेँ। धेरै कुरा त भुलेँ।

पढेर शिक्षक बन्ने सपना अधुरै 
एसएलसी पास गरेर शिक्षकमा जागिर खान पाए मेरो जीविका चल्छ कि भन्ने मेरो धारणा थियो। त्यतिबेला कसैले तिमी पढेर के बन्छौ भन्दा शिक्षक भन्थेँ। म मात्र होइन धेरैको मुखबाट शिक्षक भन्ने थियो। शिक्षकको त्यतिबेला छुट्टै सम्मान थियो।

कोही डाक्टर, इन्जिनियर भन्ने खालका थिएनन्। किनभने गाउँमा शिक्षक नै सबैभन्दा जान्नेसुन्ने र ठूलो हुन्थ्यो। डाक्टर र इन्जिनियरबारे त खासै थाहा नै थिएन। गाउँमा प्राविसम्मको स्कुल खुलेको थियो। अहिले त कतिसम्म पढाई हुन्छ थाहा छैन।

बिहे गरेपछि पनि स्कुल गएँ। त्यो समयमा खरिपाटीमा लेख्नुपर्थ्यो। मैले कक्षा आठसम्म पढेको हो। पैसाको अभावले त्योभन्दा धेरै पढ्न सकिएन। घरको जेठो छोरो भएपछि अलिक जिम्मेवारी पनि भइयो। त्यसैले आफ्नो सपना पनि अधुरै रह्यो।

यतिबेला बरु मलाई पढ्न, नाच्न, अभिनय गर्न पो जोस आइरहेको छ। त्यतिबेला पढ्नुपर्ने रहेछ भन्ने यतिबेला बुझ्दैछु।

मैले थाहा पाउँदा त्यतिबेला छोरीलाई पढाउन हुँदैन नै भन्थे। छोरी पढे भने कता-कता जान्छे, बिग्रन्छन् भन्थे। घरको नाक काट्छे भनेर पढाउन खोज्दैनथे। अलिक महाजन र शिक्षित वर्गका मानिसले मात्र छोरीलाई स्कुल पठाउँथे।

उनीहरूले स्कुल पठाएर छोरीचेली बिगारे भनेर गाउँलेहरूले कुरा काटेको सुन्थेँ म। त्यो चलन निकै पछिसम्म नै सुनिन्थ्यो। तर, जो पढ्नुपर्छ भन्ने सोच राख्थे, उनीहरूले कसैको कुरा नसुनी छोरीहरू पढाए।

स्कुलमा एक सय जना विद्यार्थी हुँदा १० जना मात्र केटी हुन्थे। पढाउन भन्दा रजस्वला अघि नै छोरीको बिहे गरिदिँदा आनन्द मान्थे बुवाआमा। के चलन हो कुन्नी, ११/१२ वर्षकी छोरीलाई बिहे गरेर पठाइहाल्थे।

मेरो श्रीमतीले पनि खासै पढ्न पाइनन्। उनले साधारण लेखपढ गर्न सिकेकी रैछिन्। उनको र मेरो बिहे गर्दा उनको उमेर पनि १२ वर्ष नै थियो। कलिलै उमेरमा बिहे हुँदा उनले पनि पढ्न पाइनन्।

पञ्चायतको चुनावमा मतपत्रको ठाउँमा सिक्का जस्तो
नेपालमा पञ्चायती व्यवस्था लागू भएको हल्ला गाउँघरतिर सुनिन्थ्यो। हामी केटाकेटी नै थियौं। खेतबारीमा काम गर्दा त्यसबारे सुनिन्थ्यो। त्यतिबेला पनि अहिलेको जस्तो चुनाव हुन्थ्यो।

गाउँ पञ्चायतको चुनावका बेलामा प्रधानपञ्च, उपप्रधानपञ्च, वडाध्यक्ष यस्तै चुनिन्थे। भोट पनि कसले राम्रो गर्छ, उसैलाई दिने भन्ने चर्चा हुन्थ्यो। पाकाहरूको राजनीतिक गफ सुन्न खुब मनपर्थ्यो मलाई।

त्यतिबेलाको मलाई के याद छ भने चुनावको समयमा मतपत्रमा छाप हालेर ढ्वाङका खसाल्ने चलन थिएन। मतपत्र छाप्ने कागज नभएर हो कि! त्यतिबेला पैसाको सिक्का जस्तो मतपत्र हुन्थ्यो, त्यही खसाल्थे।

त्यो सिक्कामा उम्मेदवारको नाम लेखिएको हुन्थ्यो जस्तो लाग्छ। त्यति धेरै ख्याल त गरिन मैले। राजनीतिक दलसँग नजिक नभएर पनि होला। अरु कुरामा खासै चासो हुँदैनथ्यो। खेतीपाती र गाईवस्तुमै जीवन अल्झियो।

मंसिर १३, २०८१ बिहीबार १२:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।