थाङ्का बेचेर वर्षको १५ लाख कमाउँछन् राजकुमार

धरान : बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन्। २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्।
उनी भन्छन्, 'बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। घर खर्च यसैबाट जुटाउने गरेको छु। धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ। तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुन्छ।'
थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन्। विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए।
उनले १० जनालाई रोजगारी पनि दिएका छन्। उनीसँग थाङ्का बनाउन सिकेकाहरू चित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको छ। केही वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले बताए।
एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि रु पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छन्।
मंसिर १३, २०८१ बिहीबार १०:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।