बंगलादेशका कुनै पनि खेलाडीले आईपीएलमा स्थान पाएनन्, राजनीतिक कारणबारे छलफल
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर सहभागी नहुने पक्का भएको छ।
सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नभएको यो पहिलो पटक हो। बंगलादेश र भारतबीचको सम्बन्धमा अविश्वासको माहोल हुँदा त्यसको प्रत्यक्ष प्रभाव आईपीएलमा समेत परेको हो।
यस्तो अवस्थामा कतिपयले यसलाई दुई देशबीचको तनावसँग पनि जोडिरहेका छन्। सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारधारासँग सम्बन्धित केही व्यक्तिले यसलाई मोदी सरकारसँग जोडिरहेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘बंगलादेशमा हिन्दूहरूमाथि के भइरहेको छ, त्यसलाई हेरेर आईपीएलका टिमका मालिकहरू बंगलादेशी खेलाडीका लागि बिडिङमा सचेत थिए।’
कतिपयले यसलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय भनेका छन्। मुस्ताफिजुर रहमान एकमात्र बंगलादेशी खेलाडी थिए, जसले २०२४ को आईपीएलमा स्थान पाएका थिए। मुस्ताफिजुरले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका छन्।
२०२५ को आईपीएल लिलामीका लागि एक हजार पाँच सय ७४ खेलाडीहरूले नाम दर्ता गराएकोमा १० टोलीबाट ५७४ खेलाडी छनोट भएका छन्। यी ५ सय ७४ खेलाडीमध्ये २०८ विदेशी थिए।
यसपटक लिलामीका लागि बंगलादेशका १३ खेलाडीले दर्ता गरेकोमा रिशाद हुसेन र मुस्ताफिजुर रहमान गरी दुई जनालाई मात्र सर्टलिस्ट गरिएको थियो। तर, दुवै जनालाई कुनै टीमले पनि बोली लगाएनन्।
रिशादले आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका थिए। यो प्रदर्शनपछि उनी विश्वको नजरमा आए पनि भारतसँगको तीन टी-२० म्याचको शृङ्खलामा तीन विकेट मात्रै लिएका थिए।
आईपीएल विश्वभरका क्रिकेटरहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर हो। तर, पाकिस्तानी क्रिकेटर भने यसमा सहभागी हुने गरेका छैनन्। २००७ मा शुरू भएको आईपीएलमा मात्र पाकिस्तानका खेलाडीहरू सहभागी भएका थिए।
मंसिर १३, २०८१ बिहीबार ०९:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।