पाकिस्तान : प्रदर्शनकारीहरूमाथ प्रहरी कारबाहीको तत्काल पारदर्शी छानबिन गर्न एम्नेस्टी इन्टरनेशनलको माग
एजेन्सी : मानव अधिकारवादी संगठन एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरी कारबाहीको तत्काल पारदर्शी छानबिन गर्न माग गरेको छ।
एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सरकारले पीटीआईसँग सम्बन्धित प्रदर्शनकारीहरू विरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक थुनामा राखेर शान्तिपूर्ण राजनीतिक प्रदर्शनको स्वतन्त्रताको लागि असहिष्णुता देखाउँदैछ।’
एम्नेस्टीले यस वर्ष बलुच र पश्तून प्रदर्शनकारीहरू विरुद्ध पनि यस्तै कारबाही भएको देखिएको उल्लेख गरेको छ।
मंगलबार पाकिस्तान तेहरिक-ए-इन्साफ पार्टी (पीटीआई)ले पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि देशभर प्रदर्शन गरेको थियो। यस क्रममा पाकिस्तान प्रहरी र सेनाको कारबाहीमा ठूलो मात्रामा हिंसा देखिएको थियो। प्रहरी र प्रदर्शनकारीबीचको झडपमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन्।
बीबीसी उर्दूका अनुसार पञ्जाब प्रहरीले प्रदर्शनकारीको आक्रमणमा एक प्रहरीको मृत्यु भएको र १७० भन्दा बढी घाइते भएको जनाएको छ।
इस्लामावादको डी चोकमा बसेका प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्दै पुलिस र सुरक्षा बलहरूले उक्त ठाउँ खाली गराएका थिए। बिहीबार, पीटीआई प्रदर्शनकारीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन्।
इस्लामावादमा प्रहरीले फ्ल्याग मार्च निकाल्दै कानून हातमा लिनेलाई कडा कारबाही गरिने बताएको छ। बीबीसी उर्दूका अनुसार प्रहरीले ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
मंसिर १३, २०८१ बिहीबार ०९:२७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।