एनपीएलका लागि स्टार स्पोर्ट्सको टिम नेपालमा

एनपीएलका लागि स्टार स्पोर्ट्सको टिम नेपालमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ब्रोडकास्टर तथा प्रडक्सन टिम नेपाल आएको छ।

लिगका सम्पूर्ण खेलहरुको उत्पादन तथा प्रसारणका लागि टोलीहरु नेपाल आइसकेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले जानकारी दिए।

‘ब्रोडकास्टर र प्रडक्सन टिम पनि इन्डियाबाट आइसकेको छ,’ उनले भने, ‘उत्कृष्ट किसिमको प्रडक्सन हुनेछ। २० वटा क्यामेराहरू प्रयोग हुनेछन्। नेपालमा अहिलेसम्म प्रयोग नभएका प्रविधि प्रयोग हुनेछ।’

नेपाल प्रिमियर लिगको जारी सिजनबाट नेपाली र विदेशी दर्शकहरुले नेपाली क्रिकेटको राइजबारे थाहा पाउने उनको भनाइ छ।

केन्द्रीय सदस्य शर्माका अनुसार यसपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को भने प्रयोग हुने छैन। डीआरएस राख्नका लागि अत्यन्त महंगो भएको र नेपालको अहिलेको बजेटले धान्ने अवस्था नभएको उनले बताए।

‘नेपाली क्रिकेटप्रति दर्शकहरुको उत्सुकताको हामी सधैँ कदर नै गर्छौँ। डीआरएस आफैँमा एकदमै महंगो प्रविधि हो, जुन अहिले हामी अफोर्ड गर्नसक्ने अवस्थामा छैनौँ,’ उनले थपे, ‘डीआरएस जस्ता प्रविधि नेपाली क्रिकेटमा प्रयोग हुने दिन पनि धेरै टाढा छैन तर यसपटक भने सम्भव भएन।’

लिगको उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ भने अहिले मैदान सिंगार्ने काम भइरहेको छ। नेपाल क्रिकेट संघले आज र भोलि दुई दिनमा सम्पूर्ण तयारी सक्ने पनि जनाएको छ।

मंसिर १३, २०८१ बिहीबार ०८:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।