पश्चिम सुर्खेतका किसानलाई सडकले दिएको खुसी, बारीमै कुहिने सुन्तला बेचेर दुई लाखसम्म आम्दानी
सुर्खेत : चौकुने गाउँपालिका-१ केलाबोटका दुर्गा वली विगत १५ वर्षदेखि सुन्तला खेतीमा छन्। यातायातको सहज पहुँच नहुँदा उनको सुन्तला बारीमै कुहिन्थ्यो।
स्थानीय बजारमा एक रुपैयाँ दानामा दिँदा समेत उनको सुन्तला बिक्री हुँदैनथ्यो। तर, गत वर्षबाट गाउँमै सडक पुगेपछि उनको सुन्तला मूल्य दाना एक रुपैयाँ हैन,किलोको ४५ रुपैयाँमा बिक्री हुन थालेको छ।
‘दुई वर्ष अघिसम्म सुन्तला बिक्री नभएर हैरान हुन्थ्यो। एक रुपैयाँ दाना पनि बिक्न समस्या हुन्थ्यो,’ दुर्गाले भने, ‘अहिले त बाहिरबाट व्यापारी खेतमै आएर सुन्तला लिन्छन्।’
वली गतवर्षबाट गौरी कृषि तथा पशुपंक्षी फर्म नै दर्ता गरेर कृषि पेशामा जुटेका छन्। शुरूमा ३०-४० बिरुवाबाट सुन्तला खेती गरेका उनको बारीमा अहिले १८५ सुन्तलाका बोट छन्।
‘३० क्विन्टल बाहिरका व्यापारीले बारीमै आएर लगे। १० क्विन्टल जति स्थानीय स्तरमा हुने मेलामा बेचियो। स्थानीय बजारमा त ५ रुपैयाँ दाना बेचिन्छ,’ उनले भने, ‘जम्माजम्मी एक लाख ४० हजार बराबरका सुन्तला बेचियो। परिवारको खर्च पनि चलेकै छ।’
गाउँमा सडकको पहुँच पुगेपछि सुन्तलाबाटै जीविकोपार्जन भएको चौकुने गाउँपालिका-३ सातसल्लीका अर्का किसान भुपेन्द्र राम्जाली बताउँछन्।
‘पहिले सडक नहुँदा सुन्तला बारीमै कुहिन्थे। बजारसम्म लैजान गाह्रो थियो, व्यापारी पनि आउँदैनथे,’ रामजालीले भने, ‘अहिले सडक भएपछि व्यापारी आफैँ गाउँमा आउँछन्। प्रतिस्पर्धा गरेर लैजान्छन्। अहिले हाम्रो मेहनत खेर गएको छैन। ४२ घरधुरीले २० हजारदेखि दुई लाखसम्म कमाउँछन्।’
अहिले गाउँभरीको सुन्तला एकद्धार प्रणालीबाट बिक्री गर्नका लागि सातसल्ली कृषि तथा पशुपंक्षी समूह गठन गरेर २६ सदस्यीय समिति बनाइएको छ। सोही अनुसार प्रत्येक घरले उत्पादन गरेका सुन्तला समूह मार्फत बिक्री वितरण गर्ने गरेको समूहका सचिव सुरेन्द्र रोकाय क्षेत्रीले बताए।
उनका अनुसार यो वर्ष गाउँबाट २५ लाख बराबरको सुन्तला निर्यात भयो। पश्चिम सुर्खेतको सुन्तलालाई बाह्य बजारमा पुर्याउन बृहत रूपमा सहकारीको स्थापना गरेर भण्डारण केन्द्र निर्माण र सुन्तलाको ब्रान्डिङ गर्नुपर्नेमा उनले जोड दिए।
पहिला बजार नपाउने सुन्तला अहिले गुटु, बाबियाचौर र वीरेन्द्रनगरसम्म पुग्न थालेपछि गाउँलेको आयआर्जन बढेको सिमलगैराका अर्का कृषक कविराम विकले बताए।
‘पहिले बजार नपाउँदा धेरै घाटा हुन्थ्यो, अहिले हामीले उत्पादन गरेको सुन्तला गुटु, बाबियाचौर र सुर्खेतसम्म पुग्छन्। यो हाम्रो लागि ठूलो परिवर्तन हो। म आफैँ पनि यो सिजनमा कमाउन भारततिर जान्थेँ। त्यहाँ गए ३०-४० हजार ल्याउँथे, अहिले घरमै बसेर ७० हजार कमाइरहेको छु। अहिले घरखर्च चलाउन अरुको भर पर्नुपर्दैन।’
उनीहरू मात्रै होइन, सडकको पहुँच भएपछि पश्चिम सुर्खेतका धनरास, नेटेकाँडा, सातसल्ली, सिमलगैरा, पुच्मा, छाप्रे, नयाँवन, लामाखाली लगायत डाँडा भागमा उत्पादन हुने सुन्तलाले बजार पाउन थालेका छन्। जस कारण कृषकहरू उत्साहित बनेका छन्।
सडक सुविधा नहुँदा पहाडी गाउँका किसानले बजारसम्म सुन्तला पुगाउन सकेका थिएनन्। स्थानीय बजारमा खपत नभएपछि उनीहरुका सुन्तला बारीमै कुहिने गरेका थिए।
अहिले सडक सञ्जाल विस्तारसँगै किसानहरूले आफ्नो उत्पादन सहजै बजारमा लैजान थालेका छन्, जसले उनीहरूको आम्दानीमा वृद्धि गराएको छ। भारत लगायत कामको खोजीमा बाहिर जाने स्थानीय समेत अहिले गाउँमै बसेर सुन्तला खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन्।
पालिकाले गर्छ प्रोत्साहन
चौकुने गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि ‘कृषि क्षेत्रमा प्रोत्साहन अनुदान सम्बन्धी कार्य सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८०’ ल्याएको थियो।
सोही अनुसार सुन्तला लगाउने कृषकलाई प्रति बिरुवा दुई सयका दरले २० हजार रुपैयाँसम्म र केरा लगाउने कृषकलाई प्रतिबिरुवा एक सयका दरले १० हजारसम्म दिँदै आएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए।
उनका अनुसार अन्य फलफल र कृषि गर्नेलाई कार्यविधि अनुसार मासिक एक हजारका दरले गोठालो भत्ता समेत पालिकाले दिने गरेको छ।
‘यो परिवर्तनले किसानहरूको जीवनस्तर सुधार मात्रै होइन, कृषिमा पश्चिम क्षेत्रले मारेको फड्को पनि हो,’अध्यक्ष विकले भने, ‘ग्रामीण क्षेत्रका जनतालाई रोजगारीको अवसर पनि सिर्जना गरेको हुँदा पालिकाले नै प्राविधिक र आर्थिक प्रोत्सान गरेको छ।’
मंसिर १३, २०८१ बिहीबार ०७:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।