बालाचतुर्दशीका लागि पशुपतिमा तयारी पूरा : केयूकेएललाई खानेपानीको जिम्मा, महानगरले शौचालयको व्यवस्था गर्ने

बालाचतुर्दशीका लागि पशुपतिमा तयारी पूरा : केयूकेएललाई खानेपानीको जिम्मा, महानगरले शौचालयको व्यवस्था गर्ने

काठमाडौं : बालाचतुर्दशी पर्वका लागि पशुपति क्षेत्र विकास कोषको तयारी पूरा भएको छ। विभिन्न संस्थाहरूसँग मिलेर कोषले तयारी पूरा गरेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

तयारी अन्तर्गत नै कोषले यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ। पसल राख्न दिँदा सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको हो।

यी पसलहरूलाई यसपाली भुवनेश्वरीबाट वनकाली तर्फको भागमा सारिनेछन्।तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए।

बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ। बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ। नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ। शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ-आफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ।

पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिए। पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यवस्था गर्ने भएको छ।

यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ। 

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ।

मंसिर १३, २०८१ बिहीबार ०७:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।