फिल्म कार्साङ टिमले झुक्क्याएको कि सर्प्राइजको तयारी हो?

फिल्म कार्साङ टिमले झुक्क्याएको कि सर्प्राइजको तयारी हो?

काठमाडौँ : फिल्मको कथामा मात्र हैन अब पात्रमा पनि नयाँपन खोजिरहेका छन् दर्शकले। समीर भट्ट, विजय बराल अनि जितु नेपालको फिल्म रुचाउनुले यही सङ्केत गर्यो। दर्शकको मन छाम्न सक्नेले यही भावनालाई फिल्मको हाइप बढाउने साधन बनाउन पनि सक्छन्।

त्यस्तै लक्षण देखिएको छ फिल्म ‘कार्साङ’ले प्रचारशैली। क्यारेक्टर पोस्टरमार्फत पब्लिसिटी गरिरहेको निर्माण टिमले पहिला दयाहाङ राईको भुतुङ्गे पोस्टर सार्वजनिक गर्यो। त्यसपछि उत्तिकै महत्त्व दिएर जितु नेपालको पोस्टर सार्वजनिक गर्यो।

दया र जितुको पोस्टरको बिचमा जितु मुख्य अभिनेता बनेको फिल्म ज्वाइँ साब रिलिज भएर राम्रो प्रतिक्रिया आइरहेको थियो। केही दिन अगाडि निर्माणपक्षले पुन जितु र दिया मास्केको पोस्टर सार्वजनिक गर्यो।

यसले निर्माण पक्षले दयाहाङलाई भन्दा जितुलाई महत्त्व दिएको प्रस्टै देखिन्छ। निर्माण टिमले फिल्मको मुख्य कलाकार दयाहाङ भएको दाबी गरेको थियो। यदि दयाहाङ मुख्य कलाकार हुन् भने प्रचारमा जितुलाई किन प्राथमिकता?

जितुको हाइप क्यासको रणनीति हो कि जितुको पात्र दयाहाङको भन्दा बलियो हो? प्रश्न जन्माएको छ। अहिले दयाहाङ सबैभन्दा डिमान्डेड कलाकार हुन्। त्यसैले सहायक भूमिकामा सहमत हुन आवश्यक देखिन्न। उनी जितुको सहायक पात्र भएर अभिनय गरे भनेर पत्याइहाल्ने अवस्था भने छैन।

त्यसैले निर्माणपक्षले अहिले जितुको पोस्टरलाई प्राथमिकता दिनुको कारण हाइप क्यासको सम्भावना बढी देखिन्छ। के होला? टिजर अनि ट्रेलरबाट पनि धेरै पक्ष खुलिहाल्छ। तर जे भए पनि फिल्म निर्माण टिमले प्रचारमा दिमाग भने लगाएको हो है। कमसेकम प्रश्न त जन्मायो नि।

पुस २६ गते रिलिज मिति तोकेको फिल्ममा दया र जितुसँगै सिर्जना निङलेखु,दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकार छन्। 

मंसिर १३, २०८१ बिहीबार ००:५०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।