पोखरामा सुरु भयो ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता
कास्की : पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस’ प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिताको दोस्रो संस्करण हो।
पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ। दौडमा नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।
प्रतियोगितामा नेपालसहित भारत, चीन, सिङ्गापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलङ्का, फिलिपिन्स, न्यूजील्याण्डलगायत देशका साइक्लिस्टहरूले प्रतिस्पर्धा गरेका छन्।
साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइने शर्माले जानकारी दिए। शर्माका अनुसार सिनियर, जुनियर र महिलातर्फको इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताए।
'पोखराको आर्वामा आयोजित प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रियस्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याइ साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ' उनले भने।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न मन्त्री थापाले आग्रह गरे।
पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताए। समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्याउने उनले बताए।
मंसिर १२, २०८१ बुधबार २१:५८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।