बिआरआई ऋणमा लिनु उचित छैन : एमाले उपमहासचिव

बिआरआई ऋणमा लिनु उचित छैन : एमाले उपमहासचिव

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले अहिले चीनसँग बिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्व समय नरहेको भन्दै बिआरआई ऋणमा लिनु उचित नभएको बताए। 

उनले भने, ‘हामीले पुँजीगत खर्च २२-२३ प्रतिशत जम्मा छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ। यो स्थितिभित्र हामी थप लोनहरू लिन सक्ने अवस्थामा छैनौं। त्यसैले अहिले यति नै बेला चीनसँग बिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौं भन्ने खालको कुरा चाहिँ आवश्यक छ जस्तो लाग्दैन।’ 

उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए। 

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी सफल पार्न उनले आग्रह गरे। 

उनले भने, ‘लोनहरूमा हुने अथवा आउने सर्तहरु अलि-अलि अप्ठ्यारा छन्। जुनसुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ। यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन भन्ने मेरो आँखा छ।’  

मंसिर १२, २०८१ बुधबार २१:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।