अनलाइनबाट घाउ ड्रेसिङ गर्ने भन्दै एक पुरूषलाई बोलाए, 'पैसा नदिए बलात्कारमा फसाइदिन्छु' भन्दै १८ लाख मागे
काठमाडौं : हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ परेको छ।
पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन्। दीपेन्द्र र वर्ष दाजुबहिनी हुन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरुले ३३ वर्षीय युवकलाई हनिट्रयापमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ।
भक्तपुरको ठिमीमा वर्षाले घाउ ड्रेसिङ गर्ने भन्दै अनलाइनबाट व्यक्ति सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाएर रकम असुल्न खोजेको आरोप छ।
'पैसा नदिए बलात्कार कसुरमा फसाइदिन्छु' भन्दै १८ लाख रुपैयाँ माग गरिएको थियो। पछि ८ लाख रुपैयाँ दिने सहमति भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
उनले भने, ‘पीडितसँग आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको भेटिएको छ।’
यो समूहका एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
आरोपीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको एसपी आचार्यले जानकारी दिए।
मंसिर १२, २०८१ बुधबार १९:५३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।